परराष्ट्रमन्त्री राणा इटली र जर्मनी भ्रमणपछि स्वदेश फर्किइन्

लोकपथ
448
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनीको सरकारी भ्रमण सम्पन्न गरी स्वदेश फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरे ।

मन्त्री राणा इटलीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशनमा सहभागी हुन गएकी थिइन् । अधिवेशनका प्रमुख सत्रहरू तथा विभिन्न उच्चस्तरीय सम्मेलनहरूलाई उनले सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उनले नेपालले खाद्य अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको र यसका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना तयार गरिएको जानकारी दिइन् ।

उनले नेपालमा खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति अन्तर्गत उपभोक्ता संरक्षण, प्रयोगशाला निगरानी र नियामक मापदण्डमार्फत सुरक्षित तथा गुणस्तरीय खाद्य सुनिश्चित गरिँदै आएको बताइन् । साथै, अतिकम विकसित, साना टापू र भूपरिवेष्ठित राष्ट्रहरूले जलवायु परिवर्तनका कारण भोग्नुपरेको क्षति प्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै यस्ता मुलुकहरूका लागि दिगो कृषि प्रणाली र जलवायु वित्तमा अनुदानको आवश्यकता औँल्याइन् ।

इटली भ्रमणपछि मन्त्री राणा जर्मनी पुगिन् जहाँ उनले जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । बर्लिनमा सम्पन्न उक्त भेटमा उनले नेपालमा रासायनिक मल उत्पादन कारखाना स्थापना, सिधा हवाई उडान, तथा लगानी अभिवृद्धिका विषयमा प्रस्ताव राखिन् ।

मन्त्री राणाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको र त्यसपछिको विकास यात्रामा जर्मनी, युरोपियन युनियन तथा अन्य साझेदारहरूको स्रोत, प्रविधि र आर्थिक सहयोग अपेक्षित रहेको धारणा पनि व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?