चितवन। अविरल वर्षासँगै चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा परेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात स्थानीय तहमा एक लाख २८ हजार ६६५ जनसंख्या वर्षाका कारण प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा राप्ती नगरपालिका रहेको छ, जहाँ १० हजार १०९ घरका ५० हजार ९५० जना जोखिममा परेका छन् । त्यस्तै, भरतपुर महानगरपालिकामा ६ हजार ६३५ घरका ३३ हजार १७५ जना, माडी नगरपालिकामा ३ हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकामा २ हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित हुने प्रारम्भिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कालिका नगरपालिकामा १ हजार ५ परिवारका ५ हजार २५ जना, खैरहनी नगरपालिकामा ३२० परिवारका १ हजार ६०० जना र इच्छाकामना गाउँपालिकामा १ हजार २५६ परिवारका ६ हजार २८० जना प्रभावित हुने देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जोखिम न्युनिकरण तथा उद्धारका लागि सबै पूर्वतयारी गरिएको जानकारी दिए। उनले भने, ‘नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । उद्धारका लागि आवश्यक संरचना तयारी अवस्थामा राखिएको छ। खाद्यान्न, स्वास्थ्य सामग्री र उद्धार उपकरण पनि तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ ।’
प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत उद्धार टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । आगामी दिनमा सम्भावित जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया