काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीभित्र र बाहिरबाट भइरहेको ललकार –प्रत्यलकारको राजनीतिक शैली अन्त्य गर्न आग्रह गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणा र त्यसपछि एमाले नेताहरूबाट आएको प्रतिक्रियालाई इंगित गर्दै भट्टराईले यस्तो अपिल गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं ।’ ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको छ ।
उनले आपसी संवाद र सहकार्यमार्फत् समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै लेखेका छन्, ‘बसौं, आपसमा विमर्श गरौं, सहकार्यमार्फत समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’
भट्टराईको यो भनाइले हाल एमालेभित्र र वरिपरि उत्पन्न विवादको चर्को स्वरभन्दा सहमतिको बाटो रोज्नुपर्ने संकेत गरेको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया