कालीगण्डकी करिडोर पहिरोले पूर्ण अवरुद्ध, जोखिममा आसपासका बासिन्दा

लोकपथ
504
Shares
फाइल तस्बिर

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसिरहेको र पहिरो खस्ने क्रम अझै रोकिएको छैन । लगातारको वर्षासँगै सक्रिय पहिरोले सडक सम्पर्क अवरुद्ध भएपछि सवारी आवागमन ठप्प बनेको छ ।

अवरुद्ध सडक खुलाउन प्रहरीचौकी भुर्तुङबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटिएको छ । तर पहिरो पन्छाउने काम तत्काल सम्भव नहुने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

उक्त घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी तथा खोला आसपासका तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोको जोखिमबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी र सम्बन्धित निकायले सम्भावित जोखिम न्यूनीकरण तथा सडक पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?