काठमाडौं । आज (शुक्रबार) काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ।
प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक शुक्रबार साढे ६ महिनापछि बस्न लागेको हो । पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् । उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी रहेकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभाबाट पारित हुनुपर्छ । अन्यथा ‘बजेट होली डे’ लागु हुने कानुनी व्यवस्था छ । यसै कारण मेयर शाह बैठक बोलाउन बाध्य भएको बताइन्छ।
महानगर स्रोतका अनुसार शुक्रबार बिहान ११ बजे मेयर शाहको संयोजकत्वमा अनुमान तथा बजेट निर्धारण समितिको बैठक हुनेछ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
कानुनी औपचारिकता पूरा भएसँगै दिउँसो २ बजेको कार्यपालिका बैठकले नीति, कार्यक्रम र बजेट तयार पारेर नगरसभामा पेस गर्ने निर्णय लिने तयारीमा छ । त्यही कार्यपालिकाले नगरसभाको मिति समेत तोक्नेछ। असार मसान्तभित्रै बजेट पारित गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया