काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन र वितरणसम्बन्धी कानुन संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले ‘आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन, २०५५’ समयसापेक्ष नभएको, अस्पष्ट व्यवस्था भएको तथा वर्तमान परिप्रेक्ष्यमा व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको भन्दै संशोधनको आवश्यकता औंल्याएको हो ।
समिति सभापति अब्दुल खानले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा तत्काल समस्या नभए पनि निजी क्षेत्रलाई आपूर्ति गर्न दिने सन्दर्भमा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर तथा दुर्गम क्षेत्रको पहुँच लगायतका पक्षमा विस्तृत अध्ययन आवश्यक रहेको बताए ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयलाई ऐनलाई चाँडोभन्दा चाँडो संशोधन गरी स्पष्ट व्यवस्था गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, ऐन संशोधन नभएसम्म नुनको आपूर्ति, ढुवानी र वितरण साविकअनुसार नै जारी राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया