भक्तपुर क्यान्सर अस्पतालले भित्र्यायो अत्याधुनिक उपचार प्रविधिहरु

लोकपथ
1.6k
Shares

काठमाडौं । क्यान्सर उपचारका लागि देशकै आशाको केन्द्र बनेको भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक उपचार प्रविधिहरु भित्र्याएको छ ।

बिहीबार गुरु पूर्णिमाको अवसर पारेर अत्याधुनिक प्रविधिहरुको शुभारम्भ गरिएको हो ।

नयाँ प्रविधि भित्रिएसँगै अब क्यान्सर पीडितहरूलाई राजधानी बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

आज एक विशेष समारोहकाबिच अस्पतालमा जडान गरिएका एन्डोस्कोपी, सिस्टोस्कोपी, न्युरो माइक्रोस्कोप र सी–आर्म जस्ता प्रविधिहरूको उद्घाटन वरिष्ठ चिकित्सक डा. बसन्त पन्त, डा. सुनिल शर्मा र डा. रोमियो कन्साकारले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले क्यान्सर उपचारका लागि यस्ता प्रविधिहरूको प्रयोग अब ‘गेम चेन्जर’ सावित हुने विश्वास व्यक्त गरे ।

उनले भनेका छन्, ‘अब ब्रेन क्यान्सरजस्ता जटिल समस्या पत्ता लगाउन र त्यसको उपचार गर्न यी उपकरणहरू अत्यन्तै उपयोगी हुनेछन् ।’

अस्पतालको नेतृत्वमा चालिसे आएसँगै अस्पतालको मुहार नै फेरिएको कतिपयले बताउँछन् ।

अत्याधुनिक प्रविधिहरूको जडानसँगै अब भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण उपचार सेवा उपलब्ध हुनेछ । जसले गर्दा छिटोछरितो र सुलभ मूल्यमा सेवाग्राहीले उपचार सेवा दिन सकिने विश्वास लिएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै उद्घाटन समारोहपछि बोल्दै डा. बसन्त पन्तले यी उपकरणहरु आधुनिक चिकित्सा प्रविधिको नमुना रहेको र नेपालमा क्यान्सरका बिरामीहरुका लागि ठूलो राहत मिल्ने समेत बताए ।

‘यी उपकरणहरू आधुनिक चिकित्सा प्रविधिको नमुना हुन् । यो नेपालका क्यान्सर बिरामीहरूका लागि ठूलो राहत हो ।’

हाल प्रविधिहरूको जडान सकिएको र छिट्टै पूर्ण सञ्चालनमा ल्याइने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?