काठमाडौं । असार २४ गते मध्यरात आएको भोटेकोशीको भीषण बाढीले पूर्णरूपमा अवरुद्ध बनाएको स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा सुरक्षाकर्मीहरूले अस्थायी पदमार्ग निर्माण गरी ४ सय ८५ भन्दा बढी व्यक्तिको उद्धार गरेका छन् ।

सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्यमा जुट्दै भोटेकोशीको उर्लंदो भेलबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा पुर्याएका हुन्। साथै, रसुवागढी भन्सार कार्यालयको यार्डमा अलपत्र परेका दुईवटा कन्टेनर र एउटा विद्युतीय सवारीसाधन (ईभी) पनि सुरक्षित स्थानमा सारिएको छ ।

यस बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण केही सुरक्षाकर्मी र स्थानीय सर्वसाधारणसमेत बेपत्ता भएको बताइएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले सडक पूर्वाधार, संचार र यातायातमा गम्भीर प्रभाव पारेको छ भने स्थानीयवासीहरु ठूलो जोखिममा परेका छन्। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया