कञ्चनपुर । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्न थालेपछि कञ्चनपुरमा डेंगु नियन्त्रणका लागि विभिन्न पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने एडिस एजिप्टाइ जातको लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने अभियान थाल्दै स्थानीय तहसँग सहकार्यमा कार्यक्रम अगाडि बढाएको हो ।
औलो निरीक्षक सिद्धराज भट्टका अनुसार अभियान अन्तर्गत समाजका अगुवा र समुदायलाई लामखुट्टे नियन्त्रणका उपायबारे प्रशिक्षण दिइएको छ । सहभागीलाई पानी जम्ने ठाउँहरूको निरीक्षण गर्ने, लार्भा पहिचान र नष्ट गर्ने तरिका सिकाइएको छ ।
‘फूलदानी, टायर, ड्रम, ट्यांकी, प्लास्टिकका भाँडासहित पानी जम्मा हुने ठाउँमा नियमित सरसफाइ गर्न सुझाव दिइएको छ,’भट्टले बताए, ‘लामो बाहुला भएका कपडा लगाउने, झ्याल ढोकामा जाली राख्ने, झुलको प्रयोग गर्ने, क्रिम प्रयोग गर्ने जस्ता उपायबाट लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ ।’
उनले डेंगुको लक्षणबारे पनि जानकारी दिएका छन् । ‘डेंगु संक्रमण भएमा उच्च ज्वरो, टाउको र आँखाको पछाडि दुख्ने, मांसपेशी र हड्डी दुख्ने लक्षण देखिन्छ,’उनले भने, ‘यसको कुनै निश्चित औषधि नभएकोले पूर्वसतर्कता नै मुख्य उपाय हो ।’
शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न भइसकेको र कृष्णपुर नगरपालिकाका दुई स्थानमा कार्यक्रम सञ्चालनको तयारी भइरहेको भट्टले जानकारी दिए । अन्य जोखिमयुक्त स्थानहरूमा पनि सचेतनामूलक कार्यक्रम विस्तार गरिने योजना रहेको उनले बताए ।
पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले समुदाय, स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूको समन्वयमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म कञ्चनपुरमा २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । वर्षातको समयमै संक्रमण अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै स्वास्थ्यकर्मीहरूले सतर्क रहन सबैमा आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया