काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र बढ्दो अराजकता सह्य नहुने चेतावनी दिएका छन् ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ,’ पोखरेलले भने, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू अनुमोदन गर्ने अनि अहिले प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’
महासचिव पोखरेलले पार्टी र नेतृत्वविरुद्ध पछिल्लो समय आक्रमण बढ्दै गएको टिप्पणी गर्दै, यस्तो प्रवृत्तिलाई पार्टीले सहन नहुने स्पष्ट पारे । उनले पार्टीका घोषित नीतिको अवज्ञा कुनै हालतमा स्वीकार्य नहुने बताए ।
सरकारको नेतृत्व एमालेले गरिरहेकै कारण विभिन्न झूटो प्रचार र लाञ्छनाको खेती भइरहने गरेको उनकाे आरोप छ ।राजावादी र माओवादीहरू कांग्रेससँग सम्बन्ध सुधार गर्न एमालेमाथि मात्र हमला गरिरहेको उनको भनाइ थियो।
पोखरेलले आगामी भदौ २०–२२ मा हुन लागेको कार्यक्रम विधान महाधिवेशन भएको प्रस्ट पार्दै, अहिले कुनै नेताको पक्ष वा विपक्षमा कित्ताकाट गर्नु आवश्यक नरहेको बताए। ‘नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले बुझ्नुपर्छ,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया