काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा गत मंगलबार आएको आकस्मिक बाढीको कारण सुप्राग्लेशियल हिमतालको विस्फोट भएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
विभागले युरोपेली अन्तरिक्ष एजेन्सीको ‘सेन्टिनेल’ उपग्रहमार्फत प्राप्त तथ्याङ्कको विश्लेषणपछि यस्तो जानकारी दिएको हो ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार रसुवागढी क्षेत्रदेखि करिब ३६ किलोमिटर उत्तरमा रहेको नेपाल–चीन सीमास्थित करिब ५१५० मिटर उचाइमा रहेको ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा विकसित सुप्राग्लेशियल ताल (हिमताल) फुट्दा बाढी आएको देखिएको छ ।
‘सुप्राग्लेशियल तालको क्षेत्रफल पहिले करिब ०.७५ वर्ग किलोमिटर थियो, जुन बाढीपछिको उपग्रह चित्रमा घटेर ०.६० वर्ग किलोमिटर मात्र देखिन्छ,’ पराजुलीले भने, ‘यसरी तालको आकारमा आएको उल्लेखनीय घटबढले सो तालबाट पानीको निकास भइ बाढी आएको पुष्टि गर्छ ।’
उनका अनुसार बाढी आउनुअघि र पछि उपग्रहबाट प्राप्त तस्बिरहरूको तुलनात्मक अध्ययन गर्दा बाढीको स्रोतको रुपमा हिमताल विस्फोट देखिएको छ। यसले नदी तलको भूभागमा प्रत्यक्ष प्रभाव पारेको छ ।
यस विषयमा हालसम्म चीनबाट आधिकारिक स्थलगत प्रतिवेदन भने प्राप्त भइनसकेको विभागले जनाएको छ । तर, विभागले अन्य भू–उपग्रहबाट आउने थप तस्बिरमार्फत अध्ययनलाई निरन्तरता दिने बताएको छ ।
यसैबीच, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले पनि सो बाढीको मूल कारण चीन–नेपाल सीमास्थित ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल तालको फुटावट रहेको पुष्टि गरेका छन् ।
यस घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसको निगरानीको आवश्यकता औंल्याएको विज्ञहरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले हिमतालहरूमा निरन्तर निगरानी र अन्तरदेशीय समन्वय अझ सुदृढ गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया