काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बोलेको विषयमा सबैको चासो बढ्यो । उनले प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएका केही मानिसहरु उतै बसे भन्ने आरोप थियो ।
रास्वपाले भिजिट भिसा प्रकरणबारे संसदमा आवाज उठाइरहेको बेला नै यो कुरा आएपछि थप चासो हुने नै भयो । विपक्षी दलहरुले त्यसलाई मसला पाए, सत्तापक्षले त्यसलाई काउन्टर दिने अवस्था बन्यो ।
‘स्वंय सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको भ्रमणमा समेत केही मानिसहरु कार्यक्रममा सहभागि हुने बहाना गरेर गएर नफर्किएको भन्ने समाचारहरु पनि आइरहेका छन्,’ उनले भनेकी थिइन् ।
त्यसपछि संसदमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । माननीय जस्तो मान्छेले आफूले के बोल्ने के नबोल्ने भन्ने थाहा नभएको भन्दै आपत्ति जनाए ।
‘केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरू संसदमा उठाउनुभयो । प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रमका लागि स्पेन जानुभएको हो र अब फर्किसक्नुभएको छ । उहाँसँग गएका मानिसहरू उतै बसेको भनेर गरिएको टिप्पणी कपोलकल्पित र निराधार छ,’ उनले भने ।
बर्तौलाले सांसद गौतमको अभिव्यक्ति भ्रामक रहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन समेत माग गरे । यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले त स्पेन भ्रमणमा जानेहरुको लिस्ट नै निकालेर को चाँही नफर्केको भन्दै प्रश्न तेस्र्यायो ।
बुधबारको प्रतिनिधि सभा बैठकमा समेत सोही विषयले प्रवेश पायो । आजको बैठकमा सांसद गौतम झन कडा रुपमा प्रस्तुत भइन् । उनले आफूले वर्तमान प्रधानमन्त्रीको सचिवालयका मान्छे गएको नभएको भन्दै आफ्नो बचाउ गरिन् । उनले प्रधानमन्त्री गएको कार्यक्रमको नाममा अन्य धेरै व्यक्तिहरु त्यहाँ गएको र ती व्यक्तिहरु नफर्किएको तर्क गरिन् । साथै आफूले बोलेको विषयलाई रेकर्डबाट हटाउन भनिएको विषयमा कटाक्ष गर्दै आफूले बोलेको भाषा पुनः सुन्नका लागि आग्रह गरिन् ।
‘सभामुख महोदय यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ । पछि थाहा भयो ।
प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरुले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ,’ उनले भनिन्, ‘सभामुख महोदय रास्वपा जिम्मेवार पार्टी हो । मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन । राम्रोसँग कान खुलेर सुन्नुहोस् ।’
यता एमाले सचेतक समेत रहेकी सांसद सुनिता बरालले समेत ‘भाषा सिक्न आउ’ भन्ने शैलीमा सोवितामाथि खनिइन् । उनले प्रधानमन्त्रीको मानमर्दन गरेको भन्दै कटाक्ष गरिन् ।
‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुन्छ । पटक पटक टिप्पणी गरिरहेका मान्यज्युलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईंलाई सिकाउनपर्यो भने हामी तयार छौँ । तर बोल्दा हेक्का पुर्याएर बोल्न चुनौति दिन चाहन्छु,’ उनले धम्कीको शैलीमा भनिन् ।
अरु त अरु जिम्मेवार बन्नुपर्ने गृहमन्त्री रमेश लेखक समेत सांसदकै हैसियतमा रास्वपामाथि आरोपप्रत्यारोपमा उत्रिए ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककै हात रहेको भन्दै कटाक्ष गरिरहेको छ । उनले प्रधानमन्त्रीको विदेश भ्रमणमा को को फर्किएनन् सुरुमा सांसद गौतमसँग त्यो जवाफ मागे । त्यसपछि उनले भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा माग्ने रास्वपा सांसदहरुलाई स्वयं रास्वपा सभापति रवि लामिछानेमाथि अर्को आरोप लगाइदिए । गृहमन्त्री लेखकले लामिछाने भिजिट भिसामा नै अमेरिका गएको र त्यहाँ अमेरिकी नागरिकता लिएर बसेको आरोप लगाए ।
‘मान्य रवि लामिछानेजी यही सदनको सदस्य पनि रहनुभएको र अहिले परिस्थिति एउटा छ । उहाँ कुनै समयमा संयुक्त राज्य अमेरिकाको भिजिट भिसा अन्तर्गत भिजिटरकै रुपमा भ्रमण गर्न जानुभएको थियो रे भन्ने कुरा सुन्या छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा हो । एक किसिमको भिजिट भिसा नै हो । मैले जान्न खोजेको, उहाँँ भिजिटरको रुपमा अमेरिका जानु भएको हो कि होइन ? यदी भिजिट भिसा अथवा भिजिटर अथवा निश्चित समय अर्को देश बसेर आउने भिसामा जानुभएको होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराइदिनुहुन म आग्रह गर्दछु,’ उनले भने, ‘अनि भिजिट भिसाको दुरुपयोग गर्ने नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै नैतिकताको कुरा पढाउनु हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने हो ?’
देशभर बाढीपहिरोको कारण जनजीवन प्रभावित छ । त्यस विषयमा कम र आरोप प्रत्यारोपको विषयमा संसदमा निरन्तर बहसहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया