काठमाडौं । नेपाली कांग्रेसले एकैपटक ठूलो संख्यामा नेतादेखि कार्यकर्तासम्मलाई कारबाहीको डण्डा चलाएको छ ।
गत स्थानीय तह, प्रदेश र संघीय निर्वाचनसम्म पार्टीका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाहीको डण्डा चलाएको हो ।
पार्टीको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा गत असार ९ देखि १७ गतेसम्म बसेको बैठकले उनीहरुमाथि कारबाहीको डण्डा चलाउने निर्णय गरेको हो ।
जसमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका जिल्ला सभापति विष्णुकुमार राई, पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता लगायतलाई कारबाही गरेको हो । उनीहरुमाथि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको आरोप रहेको छ । उनीहरुसँग पार्टीले स्पष्टीकरण समेत सोधेको थियो, तर चित्तबुझ्दो जवाफ नपाएपछि एक वर्षका लागि नेपाली कांग्रेसको सदस्यताबाट समेत निष्काशन गरेको छ । त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको समिति संयोजक ढुंगानाले जानकारी दिए ।
त्यस्तै कांग्रेसले धनुषाको सबैलाई नगरपालिकाका सभापति खरुट यादव, धनुषाधाम नगरपालिका वडा नं १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की क्षेत्र नं २ का क्षेत्रीय सभापति सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–२ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहानगरपालिका वडा नं १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका–२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझालाई समेत कारबाही गरेको छ । त्यस्तै धनगढी उपमहानगरपालिका वडा नं १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं ५ का पूर्व महाधिवेशन प्रतिनिधि बव्लुकुमार चौधरी समेत कारबाहीमा परेका छन् । उनीहरुमाथि पनि प्रतिनिधि सभा र प्रदेश सभाका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको भन्ने उजुरीका आधारमा कारबाहीको डण्डा चलाइएको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) अनुसार उनीहरुलाई ६ महिना र नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
हालै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेहरुलाई कारबाही गर्न माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया