‘प्रधानमन्त्रीसँग स्पेन गएका मान्छे उतै बसे’ भन्ने भनाइमा सोविताको स्पष्टीकरण

लोकपथ
3.1k
Shares
फाइल तस्बिर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा गएका सन्दर्भमा आफूले गलत अभिव्यक्ति दिएको भनिएकोप्रति स्पष्टिकरण दिएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गौतमले मंगलबार संसदमा व्यक्त अभिव्यक्तिबारे स्पष्ट पार्दै भनिन्, ‘मैले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको भनेकी होइन । कृपया राम्रोसँग सुन्नुहोस् ।’

उनले मंगलबारको बैठकमा प्रधानमन्त्री स्पेन गएका कार्यक्रममा सहभागी हुने भन्दै गएका केही नागरिक नफर्किएको विषयमा समाचार आएको भन्दै संसदको ध्यानाकर्षण गराएकी थिइन् ।

तर, त्यसपछि उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिएको र प्रधानमन्त्रीको सचिवालयबाट चुनौती आएको भन्दै उनले आपत्ति जनाइन् ।

गौतमले भनिन्, ‘यस्तो नागरिक बेचिने र देशको छविमा आँच आउने अवस्थामा सरकारले कनिष्ठ कर्मचारीको नेतृत्वमा टालटुले छानबिन समिति बनाएर झेली खेल खेलेको छ । यसकै विरोधमा हामी निरन्तर संसद बहिष्कार गरिरहेका छौँ ।’

उनका अनुसार प्रधानमन्त्रीसँगै नगएपनि स्पेनको कार्यक्रममा सहभागी हुन भनी गएका केही नेपाली नागरिक नफर्किएको समाचारमा आएको कुरा सत्य हो, र आफूले त्यही तथ्य संसदमा उठाएको जिकिर गरिन् ।

‘रास्वपा जिम्मेवार पार्टी हो,’उनले भनिन्, ‘सभामुख महोदय, कृपया मेरो कुरा हटाउन नखोज्नुहोस् ।’ सांसद गौतमले संसदमा उठाएको विषयलाई तोडमोड गरी गलत आशय दिइएको भन्दै यसको विरोध जनाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?