घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्न : सांसद महत

लोकपथ
994
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले घरजग्गा क्षेत्रमा अनावश्यक रुपमा अत्यधिक लगानी भइसकेकाले अब त्यसलाई प्रोत्साहन गर्नु नहुने बताएका छन् ।

बुधबार संसद्को अर्थ समितिमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा बोल्दै उनले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘घरजग्गामा धेरै लगानी भइसकेको छ, अब त्यसलाई प्रोत्साहन गर्नु हुँदैन,’उनले भने, ‘जो नाफा मात्रै कमाउने सोचमा छन्, अब नोक्सानी सहन तयार हुनुपर्छ ।’

उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगमै मात्र कर्जा दिँदै आएका छन्, जसका कारण साना व्यवसाय र कृषिमा कर्जा पुग्न सकेको छैन । उनले कृषि विकास बैंकले हाइड्रोपावरमा लगानी गरिरहेको उल्लेख गर्दै वास्तविक कृषिमा भने लगानी अभाव रहेको बताए ।

डा. महतले साना कर्जाका ग्राहकले ठूलो समस्या भोग्नुपरेको भन्दै मौद्रिक नीतिले यस्तो चुनौती समाधान गर्ने बाटो खोल्नुपर्ने बताए । ‘उत्पादनमा आधारित कृषि, व्यवसाय र उद्योगलाई कर्जा दिइनुपर्ने हो, तर बैंकहरुले जोखिम लिन नचाहेर त्यसबाट टाढा बसेका छन्,’ उनले भने ।

उनले मौद्रिक नीतिमा अघिल्ला कमजोरीबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी नीतिमा व्यवसायिक सोच राखेर काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था गर्नुपर्ने सुझावसमेत दिए ।

डा. महतले नियमनभन्दा सुपरभिजनमा जोड दिनुपर्ने उल्लेख गर्दै, नियामक निकायको भूमिकालाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?