एनपीएल छानबिन कार्यदललाई राखेपको लेटरहेड प्रयोग नगर्न निर्देशन

लोकपथ
602
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको आरोपबारे छानबिन गर्न गठन गरिएको कार्यदलले अब राष्ट्रिय खेलकुद परिषद (राखेप) को लेटरहेड प्रयोग गर्न नपाउने भएको छ ।

राखेपले कार्यदललाई सोमबार यस्तो निर्देशन दिएको हो । परिषदको निर्णय कार्यदलले तोकिएको अधिकार क्षेत्र नाघेर काम गरिरहेको भन्दै आएको हो ।

हालै कार्यदल संयोजक रञ्जना प्रधानको हस्ताक्षरसहित राखेपको लेटरहेडमा नेपाल क्रिकेट संघ (क्यान) लाई पठाइएको एक पत्र विवादमा आएको थियो । उक्त पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन नसकिएसम्म एनपीएल सम्बन्धी कुनै काम नगर्न र नगराउन निर्देशन दिइएको थियो ।

तर कार्यदलले परिषदको आधिकारिक लेटरहेड प्रयोग गरी यसरी निर्देशनात्मक पत्र पठाएकोप्रति परिषदका सदस्य–सचिव टंकलाल घिसिङ असन्तुष्ट बनेका छन् । यही असन्तुष्टि स्वरूप कार्यदललाई अब परिषदको लेटरहेड प्रयोग नगर्न र आफ्नो कार्यादेश (टीओआर) भित्र सीमित रहन निर्देशन दिइएको राखेपद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रेस नोटमा परिषदले क्रिकेट संघलाई लेखिएको पत्र राखेपको आधिकारिक नभएको समेत स्पष्ट पारेको छ । साथै परिषदप्रति प्रश्न उठ्ने कुनै काम नगर्न कार्यदललाई सचेत गराइएको छ ।

एनपीएलमा भएको भनिएको अनियमितताको छानबिनका लागि गठित कार्यदल र क्यानबीचको यो विवादले नेपाली क्रिकेट प्रशासनमा थप अन्योलता निम्त्याउने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?