प्रचण्डको दाबी : ‘संख्यामा प्रतिपक्ष, एजेन्डामा संस्थापन माओवादी नै हो’

लोकपथ
287
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई नेपाली राजनीतिको संस्थापन पक्ष भएको दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै प्रचण्डले कानुनी र संख्यात्मक हिसाबले माओवादी केन्द्र अहिले प्रतिपक्षमा रहेको स्वीकार गरे पनि एजेन्डा र विचारधाराको हिसाबले माओवादी नै संस्थापन पक्ष भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।’

प्रचण्डका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, मजदुर, किसानलगायत उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्ने प्रक्रियामा माओवादीको नेतृत्व निर्णायक रहँदै आएको छ । ‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं । तर सिटको संख्याभन्दा पनि एजेन्डा र मूल्यमा आधारित नेतृत्व नै महत्वपूर्ण हो,’ उनले उल्लेख गरेका छन् ।

उनको यस भनाइलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ, जहाँ सत्ताबाट बाहिर रहँदा पनि आफ्नो पार्टीलाई अग्रणी र निर्णायक शक्तिका रूपमा चित्रित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?