काठमाडौं । ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।
श्रेष्ठले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्न लागिएको कर्पोरेशनले जनाएको छ ।
आज कालिमाटीस्थित कर्पोरेशनको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सो बारेमा जानकारी गराइएको हो ।
आगामी असार २६ गते बिहीबार एक कार्यक्रमकाबिच अभिनन्दन पत्रसहित २ लाख नगदसहित श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।
हेमबहादुर मल्ल सम्मान २०८० को उम्मेदवार छनोटका लागि लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा एक छनोट समिति गठन भएको थियो । उक्त समितिले गरेको सिफारिसका आधारमा श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले जानकारी दिए ।
स्वर्गीय हेमबहादुर मल्लले कर्पोरेशनमा रही पुर्याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष उनको नाममा पुरस्कार प्रदान गरिँदै आइएको छ ।
सार्वजनिक प्रशासन, व्यवस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष ‘हेमबहादुर मल्ल सम्मान’ दिइँदै आइएको छ । यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना लगायत थुप्रै व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गरिएको छ ।
स्व. मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा संघको स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया