काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे संसदमा भ्रामक र तथ्यहिन अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएका केही व्यक्तिहरू स्पेनमै बसेको भन्ने अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, ‘केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरू संसदमा उठाउनुभयो । प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रमका लागि स्पेन जानुभएको हो र अब फर्किसक्नुभएको छ । उहाँसँग गएका मानिसहरू उतै बसेको भनेर गरिएको टिप्पणी कपोलकल्पित र निराधार छ ।’
प्रमुख सचेतक बर्तौलाले यस्ता अभिव्यक्तिहरूले संसदको गरिमा खल्बल्याउने भन्दै संसदमा बोलेको कुरा प्रमाणसहित उठाउनुपर्नेमा जोड दिए । उनले यस्तो तथ्यहीन अभिव्यक्ति दिने सांसदलाई ती व्यक्तिहरू को हुन् भनेर स्पष्ट पार्न चुनौतीसमेत दिए ।
‘बोल्न पाउने अधिकारको दुरुपयोग नगरौँ,’भन्दै बर्तौलाले जिम्मेवार व्यवहार अपनाउन सांसदहरूलाई आग्रह गरे ।
उनको भनाइअनुसार, प्रधानमन्त्रीको भ्रमण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यले भएको हो र त्यसलाई अनावश्यक रूपमा विवादित बनाउनु अनुचित हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया