सिराहामा शिक्षकद्वारा १० छात्रामाथि यौन दुर्व्यवहार, सांसद थपलियाद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

लोकपथ
637
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद सम्झना थपलियाले सिराहा जिल्लाको गोलबजार नगरपालिका–८ स्थित जनता नमुना माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारसम्बन्धी घटनाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले विद्यालयका शिक्षक हरी श्रेष्ठले १० जना छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपनि विद्यालय प्रशासनले अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि नबढाएकोप्रति आपत्ति जनाइन् ।

‘विद्यालयका छात्राहरु लामो समयदेखि शारीरिक तथा यौन हिंसाको सिकार हुँदै आएका छन् । उनीहरू मानसिक रूपमा थला परिसकेका छन्,’सांसद थपलियाले भनिन्, ‘तर विद्यालय प्रशासन मौन बसेको छ ।’

उनले घटनाको तुरुन्त अनुसन्धान गरी दोषी शिक्षकलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद थपलियाले सो विद्यालयलाई विगत दश वर्षमा करिब १५ करोड रुपैयाँ अनुदान प्रदान गरिए पनि माध्यमिक शिक्षा परीक्षाको नतिजा शून्य आएको उल्लेख गरिन् । यस्तो गम्भीर समस्यालाई वेवास्ता गर्दा शैक्षिक क्षेत्रमा झनै विकृति फैलन सक्ने चेतावनी दिँदै उनले शिक्षकलाई कारबाहीको प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?