राहदानी विभागको फोन : एक सातादेखि ‘सम्पर्क हुन सकेन’

फोन नै नलाग्ने बनाएर राखियो, प्रवक्ताको मोबाइल नम्बरसमेत वेबसाइटमा छैन

लोकपथ
469
Shares

काठमाडौं । पासपोर्ट अर्थात् राहदानी व्यवस्थापनको केन्द्रीय कार्यालय हो, राहदानी विभाग । ७७ वटै जिल्ला प्रशासन कार्यालय र विभागबाट समेत राहदानीको फारम भर्नेहरूले राहदानी पाउन यही विभागको भर पर्नुपर्ने हुन्छ । राहदानीको केन्द्रीय सर्भर समेत विभागमै रहेको छ राहदानीसम्बन्धी कुनै समस्या परेमा सोध्ने ठाउँ पनि विभाग नै हो ।

तर विभागले समन्वय वा जानकारीका लागि राखेको फोन भने एक सातादेखि सञ्चालनमै छैन । राहदानी विभागले समन्वय, जानकारी र गुनासोका लागि राखेको फोन नम्बर ०१-५९७०३३० मा सम्पर्क गर्दा अहिले सम्पर्क हुन सकेन भन्ने आवाज मात्रै आउने गरेको छ ।

विभागले सर्वसाधारणका लागि भनेर राखेको अर्को नम्बर हो, ०१-५९७०३२९ । यो नम्बर महानिर्देशकको कार्यकक्षको नम्बर हो । यो नम्बरमा पनि फोन त लाग्छ तर अटोमेटिक भ्वाइस म्यासेजमा गएर काटिन्छ ।

विभागले समस्या, गुनासो आदिका लागि सम्पर्क गर्ने अर्को कुनै माध्यम नै राखेको छैन । कुनै सेवाग्राहीको केही समस्या प¥यो भने सिधै विभागमा जानुपर्ने हुन्छ ।

विभागमा महानिर्देशकका रूपमा तीर्थराज अर्याल छन् भने प्रवक्ताका रूपमा निर्देशक शत्रुध्वन पोखरेल छन् । सूचना अधिकारीका रूपमा उत्तम घिमिरे रहेका छन्, तर उनीहरूको कसैको पनि मोबाइल नम्बर राखिएको छैन ।

सामान्यतः प्रवक्ताको जिम्मेवारी पाउने व्यक्तिको मोबाइल नम्बर समेत वेबसाइटमा राख्ने गरिएको हुन्छ । कुनै कुनै कार्यालयमा प्रवक्ताको मोबाइल नम्बर नराखिएको भए सूचना अधिकारीको राखिएको हुन्छ ।

तर राहदानीको केन्द्रीय सर्भर र डाटा सेन्टर रहेको राहदानी विभागमा न कुनै कर्मचारीको सम्पर्क नम्बर उल्लेख गरिएको छ, न कार्यालयको हटलाइन र अन्य फोन नै लाग्छन् ।

परराष्ट्र मन्त्रालय भन्छ, त्यहीँ गएर सोध्नुहोस्

राहदानी विभागको फोन एक सातादेखि नलाग्ने बनाएर राखिएको र महानिर्देशकको फोन समेत अटोमेटिक भ्वाइस म्यासेजमा राखिएपछि हामीले परराष्ट्र मन्त्रालयमा सम्पर्क गरी महानिर्देशक वा प्रवक्ताको मोबाइल नम्बर माग गरेका थियौँ । कार्यालयको फोन नलाग्ने बनाएर राखिएको किन हो भनी प्रश्न गर्दै मोबाइल नम्बर उपलब्ध गराउन माग गर्दा मन्त्रालयका सूचना अधिकारी नितेश सापकोटाले उतै (विभागमै) गएर बुझ्न भने ।

कार्यालयको हटलाइन नै नलाग्ने बनाएर किन राखिएको हो भनी प्रश्न गर्दा उनले धेरै व्यस्त हुने भएकाले नलाग्ने बनाएको होला भन्ने जवाफ दिए ।

सेवाग्राहीले सानो समस्या परेर बुझ्नलाई सम्पर्क गर्न नै नमिल्ने भयो त भन्ने प्रश्न दोहोर्‍याउँदा सूचना अधिकारी सापकोटाले उतै गएर सोध्न भने ।

महानिर्देशक वा प्रवक्ताको मोबाइल नम्बर उपलब्ध गराइदिन आग्रह गर्दा उनले आफूसँग नभएको भन्ने जवाफ दिए ।

अहिले विभागको फोन नलाग्ने बनाएर राखिएको एक साता भइसकेको छ । महानिर्देशकको फोन समेत अटोमेटिक भ्वाइस म्यासेजमा जाने बनाइएको छ भने सामान्य समस्या वा गुनासो गर्नुपर्दा समेत विभागमै जानुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?