काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको हालैको विदेश भ्रमणमा समेत गएको केही व्यक्तिहरु उतै बसेको आरोप लगाएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सोविता गौतमले त्यस्तो आशंका गर्दैै आरोप लगाएकी हुन् ।
प्रधानमन्त्री ओली हालै असार १४ गते स्पेन प्रस्थान गरी असार २० गते नेपाल फर्किएका थिए ।
‘स्वंय सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको भ्रमणमा समेत केही मानिसहरु कार्यक्रममा सहभागि हुने बहाना गरेर गएर नफर्किएको भन्ने समाचारहरु पनि आइरहेका छन्,’ उनले भनिन् ।
त्यस्तै आफूहरुले निरन्तर भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरिरहेको स्मरण गराइन् । तर सरकारले भने आफैँ निकटका आफूभन्दा कनिष्ट कर्मचारीको नेतृत्वमा प्रशासनिक समिति बनाएको भन्दै आपत्ति जनाइन् ।
‘व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन, तर यो विषय अत्यन्तै गम्भीर विषय हो,’ उनले भनिन्, ‘सरकारले नेपाली जनताको जिउधन, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी जोडिएको यस्तो विषयमा पनि उच्चस्तरी छानबिन समिति नबनाएर स्वार्थ बाझिने, उपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ट कर्मचारीहरु सम्मेलित एउटा सामान्य एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद छ, हाम्रो आपत्ति छ ।’
त्यस्तै आज पनि रास्वपाले आफ्नो धारणा राखेर प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया