काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि मोसो छ्याप्ने प्रतिवादीले न्यायपालिकाको रक्षार्थ जनकारबाही गरेको बयान दिएका छन् । पर्सा जिल्ला अदालतमा पेस गरिएको उनीहरूको बयानमा न्यायाधीशमाथिको आक्रमणलाई जनकारबाही भनेका छन् ।
रौतहटको राजपुर बमकान्डका आरोपित मोहम्मद अफताब आलम लगायतलाई जिल्ला अदालतले गरेको कसुर ठहरको फैसला उल्टाएर उच्च अदालत वीरगन्जले सफाइ दिएको थियो । मृतकको लास नभेटिएको र स्वतन्त्र पुष्टि हुन नसकेको भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले सबै अभियुक्तलाई कसुरबाट सफाइ दिने फैसला सुनाएका थिए ।
अभियुक्तहरूले सफाइ पाउने फैसला लगत्तै न्यायाधीशको आलोचना भएको थियो । त्यस लगत्तै गत जेठ २९ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीले इजलासमै पुगेर न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो प्रहार गरेको थियो ।
अदालतको इजलासमै पुगेर मोसो प्रहार गर्ने ३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरी सोमबार पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलाविरुद्ध समेत मुद्दा दायर भएको हो ।
पक्राउ परेकाहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा न्यायपालिकाको रक्षार्थ भ्रष्ट न्यायाधीशमाथि जनकारबाही गरिएको बयान दिएका छन् ।
न्यायाधीशमाथि मोसो छ्याप्ने कार्यमा प्रत्यक्ष संलग्न रहेका अविनाश भन्ने किशोर कुँवरको बयानमा न्यायपालिकाको रक्षार्थ न्यायाधीशमाथि मोसो प्रहार गरिएको र त्यो जनकारबाही भएको उल्लेख छ ।
कुँवरको बयानमा भनिएको छ,
‘विगतमा न.क.पा. माओवादी, न.क.पा. माओवादी (क्रान्तिकारी) र नेत्रविक्रम चन्द (विप्लव) को पार्टीमा आबद्ध हुँदै आए पनि हाल धर्मेन्द्रराज बास्तोलाको नेतृत्वमा बनेको न. क. पा. बहुमत पार्टीमा आबद्ध भई पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रही पार्टीले दिएको जिम्मेवारी बहन गर्दै आएकोमा मसँगै पक्राउ परेका पदम बहादुर मगर र गर्भ महतो सोही पार्टीको कार्यकर्ता हुन्, निजहरू मध्ये पदम बहादुर मगर केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज र गर्भ महतो पार्टीको सिराहा जिल्लाको सदस्य हुन् । न्यायपालिका जनताको पक्षमा भन्दा राजनैतिक बनेर न्यायाधीश जस्तो गरिमामय पदको दुरुपयोग गरी अन्यायको पक्षमा फैसला गर्दै आएकोले न्यायपालिकाको रक्षार्थ हामीले बाध्य भई जनताको मनोभावना अनुरूप गलत फैसला गर्ने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा कार्यरत रहेका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष गर्ने नीति अनुरूप कालो मोसो दली जनकारबाही गरेका हौँ । मैले कालो मोसो छर्किएको र पदम बहादुर मगरले सो दृश्यको लाइभ भिडियो रेकर्ड गरेकोमा केही समयपश्चात् हामीलाई प्रहरीले नियन्त्रणमा लिई मोबाइल समेत बरामद गरेको हो ।’
त्यस्तै गर्भ महतोको बयानमा फैसला न्यायपूर्ण नभएको र जनताको विपक्षमा रहेको भन्दै कारबाही गरिएको उल्लेख छ ।
महतोको बयानमा भनिएको छ,
‘विगतमा न.क.पा.माओवादी, न.क.पा. माओवादी (क्रान्तिकारी) र नेत्रविक्रम चन्द (विप्लव) को पार्टीमा आबद्ध हुँदै आए पनि हाल धर्मेन्द्रराज बास्तोलाको नेतृत्वमा बनेको न. क. पा. बहुमत पार्टीमा आबद्ध भई पार्टीको सिराहा जिल्लाको संयोजकको हैसियतमा रही पार्टीले दिएको जिम्मेवारी र काम कर्तव्य बहन गर्दै आएकोमा मसँगै पक्राउ परेका अविनाश भन्ने किशोर कुवँर पार्टीको केन्द्रीय सदस्य र पदम बहादुर मगर पार्टीको केन्द्रीय सदस्य तथा महोत्तरी जिल्लाको इन्चार्ज हुन् । संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा २०६४ सालको चैत्र महिनामा रौतहटको राजपुरस्थित स्थानीय शेख ईद्रिसको गोठ घरमा भएको बम विस्फोट घटनामा घाइते भएका मानिसहरूलाई नेपाली कांग्रेसका नेता पूर्व सांसद एवं मन्त्री मोहम्मद अफताब आलमले इट्टा भट्टामा जिउँदै जलाएको आरोपमा रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला गरेकोमा उक्त फैसला उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका माननीय न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले उल्टाई उक्त बम विस्फोट घटनामा संलग्न भई हत्या अभियोग लागेका मोहम्मद अफताब आलम लगायत सबै दोषीलाई सफाइ दिने गरी फैसला गरेको हुँदा सो कुरा हाम्रो पार्टीका नेतृत्व गर्ने महासचिव धर्मेन्द्रराज बास्तोलाले थाहा पाई हामीलाई पार्टी कार्यालयको बैठकमा बोलाई आवश्यक छलफल गर्दा सो फैसला न्यायपूर्ण नभएको तथा जनता र पीडितको पक्षमा अन्याय गरेको निष्कर्ष निकाली सो फैसला गर्ने न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई कालो मोसो दली कारबाही गर्ने र भ्रष्टाचारका विरुद्ध डटेर लड्ने निर्णय गरी हामीलाई सो कार्य गर्न जिम्मा दिएकोमा पार्टीको महासचिव धर्मेन्द्रराज बास्तोलाको आदेशले मिति २०८२।०२।२९ गते दिउँसो अन्दाजी ४ः१० बजेको समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित रहेको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको २ नम्बर इजलासमा कार्यरत माननीय न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको कार्यकक्षमा पुगी भ्रष्टाचार विरुद्ध नाराबाजी लगाउनुको साथै गाली गलौच गरी हामी मध्ये अविनाश भन्ने किशोर कुवँरले कालो मोसो माननीय न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको शरीर र कार्यकक्षमा छर्किएको, पदम बहादुर मगरले सो दृश्यको लाइभ भिडियो रेकर्ड गरेको र मैले नाराबाजी गरेको केही समयपश्चात् हामीलाई प्रहरीले पक्राउ गरी भिडियो खिचेको मोबाइल समेत बरामद गरेको हो ।’
यसरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै पुगेर मोसो प्रहार गर्ने तीन जना तथा योजनाकार भनिएका धर्मेन्द्रराज बास्तोलाविरुद्ध सोमबार मुद्दा दायर भई मंगलबार बयान र थुनछेक हुँदै छ ।
यता आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनलाई छानबिनका लागि न्यायपरिषद्ले काजमा तानी जिम्मेवारीबाट हटाएको छ । उनीहरूमाथि अहिले छानबिन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया