महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
861
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न महिला फुटबलका खेलहरूमा नेपाली टोलीको प्रदर्शन प्रशंसनीय रहेपनि प्रशिक्षकले देखाएको असन्तुष्टि गम्भीर विषय भएको बताए ।

उनले अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले नेपालमा आएर प्रशिक्षण दिँदा उनीहरूको अनुभव सकारात्मक हुन आवश्यक रहेको उल्लेख गरे । ‘इन्टरनेशनलबाट कोच गर्न आएकाहरु असन्तुष्ट भए भने त्यसले नेपाललाई असर गर्न सक्छ,’सिंहले भने, ‘त्यसमा ख्याल गर्न जरुरी छ ।’

उनले खेलकुदले स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै युवालाई विदेश पलायन हुनबाट रोक्न खेल क्षेत्रमै अवसर सिर्जना गर्नु आवश्यक रहेको पनि बताए ।

प्रसंगवश, एएफसी महिला एसियन कप २०२५ छनोटमा उज्वेकिस्तानसँग पराजित नेपाली टोली हालै स्वदेश फर्किएको छ । प्रशिक्षक डे वाइल्डले एन्फाको व्यवस्थापकीय कमजोरीप्रति आक्रोश व्यक्त गर्दै आफु नफर्किने चेतावनी दिएका छन् । उनले खेलाडीका लागि राम्रो होटल सुविधा समेत नभएको गुनासो गरेका छन् । साथै, एन्फाले खेलको योजना भन्दा पनि राजनीतिमा बढी ध्यान दिएको आरोप समेत लगाएका छन् ।

सिंहले प्रशिक्षकहरूको यस्ता टिप्पणी नेपालका लागि नकारात्मक सन्देश हुन सक्ने भन्दै सरोकारवाला निकायलाई तत्काल सुधार गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?