काठमाडौं । रौतहटको राजपुर बम काण्डका आरोपित मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगन्जका न्यायाधीशमाथि कालो मोसो छेप्ने व्यक्तिहरुविरुद्ध मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार मुद्दा दायर गरेको हो ।
प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले अविनाश भन्ने किशोर कुँवर, गर्भु महतो, पदम बहादुर मगर र धर्मेन्द्रराज बास्तोलाविरुद्ध अपमानजनक व्यवहार र विद्युतीय कारोबारमा मुद्दा दायर गरेको हो ।
पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलाविरुद्ध पनि मुद्दा दायर गरेको हो । न्यायाधीशमाथि नै कालो मोसो फाल्ने कार्यको योजना महासचिव बास्तोलाले बनाएको बयानका आधारमा उनीमाथि पनि मुद्दा दायर भएको हो ।
गत जेठ २९ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि नेकपा बहुमतका कार्यकर्ताले इजलासमै गएर भ्रष्टाचारी भन्दै कालो मोसो प्रहार गरेका थिए । उक्त घटना लगत्तै प्रहरी दुई जनालाई अदालत परिसरबाटै पक्राउ गरेको थियो भने एक जनालाई अदालत परिसर बाहिरबाट नियन्त्रणमा लिएको थियो ।
कालो मोसो छ्याप्नुअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको राजपुरमा २०६४ सालमा भएको बम विस्फोटको घटनाका योजनाकार मानिएका मोहम्मद अफताब आलम लगायतका आरोपितलाई सफाइ दिने फैसला सुनाएका थिए । रौतहट जिल्ला अदालतले दोषी ठहर गरेका उनीहरूलाई उच्च अदालतले भने लास नभेटिएको, जलाइएको पुष्टि नभएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो । सफाइको फैसला लगत्तै थुनामा रहेका आलमसहितका व्यक्तिहरू थुनामुक्त भएका थिए ।
प्रहरीसमक्ष बयान दिने क्रममा प्रतिवादी बनाइएका अविनाश भन्ने किशोर कुँवरले न्यायाधीश पदको दुरुपयोग गरेको, अन्यायको पक्षमा फैसला सुनाएको कारण न्यायपालिकाको रक्षा गर्न न्यायाधीशमाथि जनकारबाही गरेको बयान दिएको पाइएको छ ।
प्रहरीले मुद्दा दायर गर्दा तीन प्रतिवादीलाई उपस्थित गराएको छ भने धर्मेन्द्रराज बास्तोलाको हकमा अनुपस्थित जनाएर मुद्दा दायर गरेको छ । सोमबार दायर भएको मुद्दामा मंगलबार न्यायाधीश मुकुन्द आचार्यको इजलासमा बयान भइरहेको छ । बयानपछि थुनछेकका सम्बन्धमा सुनुवाइ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया