रसुवागढी बाढी क्षति निरीक्षण गर्न अर्थमन्त्री पौडेल रसुवा जाँदै

लोकपथ
147
Shares

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो क्षति पुगेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्थलगत निरीक्षणका लागि रसुवा जाने भएका छन् ।

अर्थमन्त्री पौडेलसँगै अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईलगायतको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्न लागिएको हो । हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई औपचारिक पत्र पनि पठाइसकेको छ ।

गएको राति आएको बाढीमा परी हालसम्म कम्तीमा १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ९ जनाको उद्धार गरेको छ ।

बाढीका बेला रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका डीएसपी हेम शाही काठमाडौंमा रहेका थिए । उनीहरू गृह मन्त्रालयद्वारा आयोजित बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन काठमाडौं आएका थिए । बाढीको खबर आएलगत्तै गृह मन्त्रालयले उनीहरूलाई जिल्लातर्फ फर्कन सहजीकरण गरेको छ ।

गोष्ठीका लागि गृहमन्त्री रमेश लेखक पनि सोही समयमा धुलिखेल पुगेका थिए । चीनतर्फको बाढीले नेपालतर्फ गम्भीर असर पारेपछि सरकारी उच्च तहको सक्रियता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?