रसुवामा बाढीले विद्युत् उत्पादनमा ठुलो क्षति, २ सय मेगावाट उत्पादन बन्द

लोकपथ
686
Shares

काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका विभिन्न जलविद्युत् आयोजना प्रभावित बनेका छन् । प्राधिकरणका अनुसार बाढीले करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एक गेट बगाएको छ भने आयोजनासम्म पुग्ने पुल चर्किएर आवतजावत बन्द भएको छ । यद्यपि पावरहाउस सुरक्षित रहेको र टेलरेसमा गेग्रान थुप्रिएको जानकारी दिएका छन् ।

यस्तै, ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’ आयोजनामा पनि बाढीले भवनमा पानी पस्न पुग्दा उत्पादन बन्द भएको छ । साथै त्रिशूली ३ ‘बी’ सबस्टेसन हिलोले ढाकिएको छ ।

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी छरे पनि ठुलो क्षति नभएको र त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बगाएको समेत शाक्यले जानकारी दिएका छन् ।

यी आयोजनाबाट उत्पादित विद्युत् मुख्य रूपमा त्रिशूली कोरिडोर हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरेको छ । तर, बाढीका कारण उत्पादन रोकिँदा राष्ट्रिय प्रणालीमा आपूर्ति प्रभावित हुने देखिएको छ ।

प्राधिकरणले क्षतिको मूल्यांकन तथा पुनःसञ्चालनका लागि आवश्यक कार्य तीव्र रूपमा अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?