विश्वप्रकाशको सुझाव– ‘अब प्रधानमन्त्री नबन्नुस्’, देउवा भन्छन्–‘ म अप्ठेरो मान्छे हुँ’

लोकपथ
2.8k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८३ असारमा नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका लागि अरु नै पात्र अघि सार्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा यसअघि देउवाले आफू रिटार्यड हुन लागेको अभिव्यक्ति स्मरण गर्दै महामन्त्री शर्माले प्रशंसा समेत गरेका थिए । केही दिन अघि सभापति देउवाले आफू रिटार्यड हुने बेला भएको र त्यो बेलासम्म पार्टीलाई एक बनाउने इच्चा रहेको बताएका थिए ।

केन्द्रीय समिति बैठकमा देउवाको प्रशंसा गर्दै विश्वप्रकाशले भनेका थिए,’ मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई
एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले बोल्दा यति धेरै प्रशंसा भयो । मेरो आग्रह छ अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस् । शितल निवासबाट निस्केर पूर्वराष्ट्रपति राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ । जाँदै गर्दा सभापतिले पार्टीलाई एक बनाउने भन्नु भएको छ ।’

उनले आफ्नो मन्तव्य टुंग्याउने बेलामा सबैलाई एक बनाएर आफू रिटायर्ड हुने बेलामा प्रधानमन्त्रीको उम्मेवार समेत अरुलाई बनाएर राजनीतिक जीवनको उत्तराद्र्धमा आफू उचाइमा पुग्न सुझाव दिए ।

‘अरूलाई मिलाउने सन्दर्भमा सभापतिले जे सोच्नु भएको छ, सभापतिको सोचलाई हामी सम्मान गर्छौं । सबैलाई एक बनाएर आफू प्रधानमन्त्री बन्ने पनि एउटा सुत्र हुन्छ, अर्को अरू कसैको नाम प्रस्ताव गर्ने र त्यो नाममा सबैलाई एक बनाउने त्यो पनि एकताको सुत्र हुन्छ । मलाई लाग्छ– सायद म दाबी गर्छु आदरणीय सभापतिको सबैभन्दा खुलेआम शुभचिन्तक विश्वप्रकाश शर्मा नै हो । जसले भन्छ– सभापतिज्यू सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ,’ उनले भने ।

त्यसपछि बोलेका देउवाले केही हाँसो मजाक गरे । उनले आफू कसैले भनेको मान्ने मान्छे नरहेको भन्दै ठट्टा गरे । साथै आफू अप्ठेरो मान्छे रहेको भन्दै आफ्नो निर्णय आफैँ गर्ने भन्दै ‘विचार गर्नुस्’ भन्दै व्यंग्य गरे ।

‘म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठेरो मानिस हुँ नि !, विचार गर्नुस् ।’

देउवाको उक्त भनाइपछि बैठकमा हाँसो छुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?