माओवादीले भन्यो– ‘नारायणकाजीले भण्डारीलाई भेटेको थाहा छैन, एमालेसँग एकता असम्भव’

लोकपथ
931
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पुनः वाम एकता गर्ने विषय पार्टीमा जानकारी नभएको जनाएको छ ।

केही दिन अघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषय बाहिरिएको थियो ।

श्रेष्ठले भण्डारीसँग भेटेर वाम एकताका लागि प्रस्ताव गरेको विषय समेत बाहिरिएपछि माओवादी केन्द्रले त्यसबारे स्पष्ट पारेको हो ।

प्रवक्ता अग्नीप्रसाद सापकोटाले विज्ञप्ति नै जारी गरेर एमाले बाहेकका दलहरुसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए । तर एमालेसँग एकताका लागि कुनै चर्चा नै नभएको समेत स्पष्ट पारे ।

‘…पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ । साथै समाचारमा भनिएको जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो कुरा एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको कुनै चर्चा चलेको छैन ।’

उक्त विषयहरुमा असत्य रहेको भन्दै भ्रममा नपर्न समेत माओवादी केन्द्रले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?