‘कुलिङ पिरियड किर्ते’ बारे छानबिन गर्न समिति गठन : कांग्रेस सांसद परियार संयोजक

लोकपथ
3.3k
Shares

काठमाडौं । संघीय निजामती विधेयकमा भएको बदमासीबारे छानबिन गर्नका लागि विशेष छानबिन समिति गठन भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठनको जानकारी गराएका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८० बमोजिम ७ सदस्यीय समिति गठन भएको हो । सभामुख घिमिरेले उक्त समितिको संयोजक नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारको नेतृत्वमा समिति गठन भएको जानकारी गराए ।

अन्य सदस्यहरुमा कांग्रेसबाट परियारसहित सुशिला थिङ, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् ।

निजामती विधेयकको दफा ८२ को उपदफा ४ मा भएको व्यवस्थाका अलवा उपदफा ५ मा भएको व्यवस्थाले त्यसमा समस्या ल्याएको भन्दै के कति कारणले सो हुन गएको हो त्यसको छानबिन गर्ने कार्यादेश दिइएको छ । त्यस्तै त्यसमा संलग्न को रहेको छ, त्यसबारे छानबिन गर्ने र त्यस्ता व्यक्तिलाई कारबाही गर्न पर्ने वा नपर्ने भन्नेमा सुझाव पेस गर्नुपर्नेछ ।

त्यस्तै भविष्यमा समितिमा कानुन बनाउँदा त्रुटी हुन नदिन के कस्ता उपायहरु अबलम्बन गर्नुपर्ने हो त्यसको सुझाव समेत दिन भनिएको छ । साथै समितिले आफ्नो कार्यविधि आफैँ बनाइ त्यसलाई व्यवस्थित गर्न सक्नेछ ।

उक्त समितिलाई तीन हप्ता यानेकी २१ दिनभित्र प्रतिवेदन प्रतिनिधि सभा समक्ष पेस गर्न भनिएको छ ।

सभामुख घिमिरेले उक्त समिति गठनसम्बन्धी प्रस्ताव प्रतिनिधि सभामा पेस गरेका थिए । उक्त समिति निर्माणसम्बन्धी प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो ।

यता विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने सत्तारुढ दलकै नेतृत्वमा समिति गठन गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा प्रवक्ता समेत रहेका सांसद मनिष झाले सत्तारुढ दलकै सांसदको नेतृत्वमा समिति गठन गर्न नहुने भन्दै आपत्ति जनाए । कुलिङ अफ पिरियड किर्ते प्रकरणमा कांग्रेस सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि नै प्रश्न खडा गरेको छ । कांग्रेसकै सांसदको नेतृत्वमा रहेको समितिले त्रुटी गरेकोमा सोही दलको नेतृत्वमा समिति गठन हुन नहुने रास्वपाको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?