काठमाडौं । असोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले राष्ट्रिय स्वाधिनतामा खलल पुग्ने अभिव्यक्ति दिएका छन् ।
पूर्व सांसद एवं जसपा मधेश प्रदेशका सभापति समेत रहेका यादवले तराईलाई नेपालबाट अलग गर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
उनीमाथि अदालतबाट पक्राउपुर्जी जारी भइसकेको छ ।
केहीदिन अघि उनलाई पक्राउ गर्न गएको डीएसपीको टोलीमाथि नै उनका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका थिए ।
त्यसपछि फरार रहेका उनले भिडियो सन्देश जारी गर्दै तराईका नागरिकलाई नेपालको दोस्रो दर्ताको नागरिक सोच्ने गरिएको समेत आरोप लगाए ।
‘आज पनि नेपालमा मधेशीलाई दोस्रो दर्जाका नागरिक भनिन्छ । हामीले धेरैपटक नेपालबाट मधेश अलग हुनपर्छ भन्ने सोच्ने गरेको थियौँ । तर स्वाभिमानका लागि नेपाल मेरो देश हो, म उस देशको नागरिक हुँ भन्ने कुरामा हामी गर्व गर्ने गरेका थियौँ,’ यादवले भने, ‘तर यो दमन शोषणका कारण अब आउने दिनमा विद्रोह हुने सम्भावना छ । डा. सीके राउतले विगुल फुकेका थिए कि, नेपालबाट मधेश अलग होस् । त्यो सही कुरा थियो । मधेश आज नभए पनि भोली हुनेछ । म रहुँ वा नरहुँ । आगामी दिनमा आउनेवाला जो सन्ततीहरु छन्, आउनेवाला जो पिडीँ छ, उसले जो नस्लवादी चिन्तन मनन राख्नेहरुको अन्त्य गर्नेछ ।’
त्यस्तै आफूविरुद्ध प्रहरीले विभिन्न मुद्दा दर्ता गरिरहेको भन्दै आफूमाथि सयौँ मुद्दा दर्ता भए पनि आफू नडराउने बताए ।
त्यस्तै उनले नेपालसँग सीमाना जोडिएको भारतको विहार राज्य सरकार, प्रहरी प्रशासन र जनतासँग समेत साथ मागेका छन् ।
‘म विहार सरकार र सबै जनता एवं पुलिस प्रशासनसँग आग्रह गर्न चाहन्छु कि, यो विदेशका मामला हो, यो राजनीतिक मामला हो । हामी आन्दोलनको लडाईँ अझै लडिरहेका छौँ । जनताको लडाईँ लडिरहेका छौँ । भारतमा हाम्रो शरणस्थल छ, भारतको हामीलाई सहयोग मिल्न पर्छ । भारत र विहारको जनता नहुँदो हो त अरु थप थिचोमिचो हुने थियो,’ उनले भने ।
सप्तरीका प्रहरी प्रमुख एसपी र डीएसपीले आफूविरुद्ध अफवाह फैलाइरहेको समेत आरोप लगाए । आफू नेपाल र भारतको सम्बन्ध राम्रो बनाउन लडिरहेको दाबी गरे ।
उनीविरुद्ध हालसम्म सात वटा आपराधिक मुद्दा दर्ता भइसकेका छन्। हालै सर्लाही जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेपछि उनी फेरि विवादमा तानिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार यादवविरुद्ध एक चोरी, ५ अभद्र व्यवहार र एक ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलिसकेको छ ।
उनलाई पक्राउ गर्न पुगेको डीएसपीको टोलीमाथि नै ढुंगामुढा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया