काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
सोमबार समितिले तयार पारेको सिफारिस प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिले आइतबारको बैठकबाट तीन जनाको नाम टुङ्ग्याएको थियो । तर सिफारिसमा परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
छनोट प्रक्रियामा सहभागी १२ जना उम्मेदवारमध्ये प्रारम्भिक चरणमा पाँच जनालाई छोटो सूचीमा राखिएको थियो । तीमध्ये अन्तिम छलफलपछि तीन व्यक्तिको नाम सिफारिस गरिएको छ ।
छनोटको प्रारम्भिक सूचीमा निमित्त उपकुलपति प्राडा खड्ग केसी, प्राडा बिनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा उपेन्द्र कोइराला र प्रा डिल्ली उप्रेती परेका थिए । अब सिफारिस सूचीमा परेकामध्ये एक जनालाई प्रधानमन्त्री ओलीले उपकुलपतिका रूपमा नियुक्त गर्नेछन् ।
त्रिविका तत्कालीन उपकुलपति प्राडा केशरजङ्ग बरालले चैत १५ गते राजीनामा दिएपछि विश्वविद्यालय उपकुलपतिविहीन रहँदै आएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया