वर्षमान पुनको सुझाव : ‘मौद्रिक नीति लचिलो र संयमित बनाउनु जरुरी छ’

लोकपथ
147
Shares
फाइल फोटो

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति लचिलो र संयमित बनाउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै पुनले अघिल्ला वर्षमा अत्यधिक खुकुलो मौद्रिक नीति लिइएको र त्यसको असर अहिले अर्थतन्त्रमा देखिएको बताए ।

‘अहिलेको समस्या विगतमा खुकुलो नीति लिएर संयमित हुन नसक्दा आएको हो,’उनले भने, ‘अब संयमित भएर लचिलो मौद्रिक नीति आवश्यक छ ।’

उनले चालु आर्थिक वर्षको बजेट पुरातन सोचबाट निर्देशित भएको भन्दै आलोचना गरे । ‘बजेट अलि पुरातनवादी ढंगले आएको छ,’ पुनले भने, ‘बैंकहरुलाई जथाभावी लगानी गर्न दिने हो भने जनताको पैसा डुब्ने खतरा हुन्छ । त्यसैले वित्तीय प्रणालीमा सुदृढता आवश्यक छ ।’

सांसद पुनले सरकारको नीति समस्यामाथि मात्र चर्चा गरेर बस्ने नभई समाधानतर्फ उन्मुख हुनुपर्नेमा पनि जोड दिए । ‘अब समाधानतर्फ अघि बढ्नुपर्छ,’ उनले भने, ‘अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउने जिम्मा सरकारको नीतिले नै लिने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?