काठमाडौं । ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुअल फण्ड संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
आइतबारबाट ‘ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुयल फण्ड’ संस्थागत तथा व्यक्तिगतका लागि सार्वजनिक भएको हो ।
प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरको १२ करोड ईकाईमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीऊ पूँजीको रुपमा रहनेछ ।
बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको हो ।
यस योजनामा संघसंस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।
ग्लोबल आइएमई म्युचुयल फण्ड नाम रहेको उक्त फण्ड बन्दमुखी योजना रहेको बताइएको छ ।
त्यस्तै प्रारम्भिक रुपमा १ अर्ब २० करोड बराबरको कोष हुनेमा यदी अत्यधिक माग भएमा १ अर्ब ५० करोडसम्म पुँजी हुनसक्ने बताइएको छ ।
प्रति इकाई १० रुपैयाँ पर्ने उक्त फण्डको न्यूनतम १०० इकाईबाट लगानी गर्न सकिन्छ ।
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरिद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालीटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया