मल ढिलो पुग्दा किसान सरकारप्रति असन्तुष्ट हुन्छन् : मन्त्री अधिकारी

लोकपथ
196
Shares

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सार्वजनिक खरिद ऐनमा रहेको जटिल व्यवस्थाले मल वितरणमा गम्भीर ढिलाइ हुने गरेको गुनासो गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले मल आपूर्ति प्रक्रियाको जटिलता फेर्नुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीका अनुसार मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेदेखि मल भित्रिन २२७ दिन लाग्ने तथ्य देखिएको छ । ‘मल आयातपछि वितरण गर्न पनि महिनौं लाग्ने हुँदा किसानले समयमै मल नपाउने समस्या छ,’उनले भने ।

उनले मल आयातपछि गोदाममा १५ दिनभन्दा बढी नराख्ने सहमति अर्थ मन्त्रालयसँग भइसकेको जानकारी पनि दिए । ‘धान उत्पादन १२० दिनमा सकिन्छ तर एक वडामा मल पुग्दा अर्को वडामा पुग्न फेरि १२० दिन लाग्ने अवस्था छ,’उनले भने ।

मन्त्री अधिकारीले मल आपूर्ति प्रणालीलाई सरल बनाउन सार्वजनिक खरिद ऐनको प्रावधान पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । साथै, रासायनिक मलको समयमै आपूर्ति नहुँदा खाद्य सुरक्षामा असर पर्ने भन्दै प्राङ्गरिक मलको प्रयोगलाई पनि प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

‘मल समयमै पुग्दैन भने कृषकले सरकारलाई दोष दिनुहुन्छ, त्यसैले अब गम्भीर छलफल हुनुपर्छ – कसरी वितरण प्रणाली सुधार्ने भनेर,’ मन्त्री अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?