नेताहरुको रगतमै भ्रष्टाचार छ : सांसद कार्की

लोकपथ
364
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरुको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छन् ।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  

उनले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । उनले भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरू व्याप्त भइसकेको बताइन् ।

जहाँज चढ्दा आफ्ना भगवान्हरू पुकार्दै चढ्न नपर्ने, सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने र नातागोताले पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्नसक्ने स्थिति बनाउन जोड दिइन् ।

सांसद कार्कीले भनिन्, ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छाैँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ । यो विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् । हामी प्लेन चढ्दा आफ्ना भगवान्हरू पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस् । हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकुन् ।’

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?