काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकमा वायुसेवा निजीकरणको बाटो खुला गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सुवालले वायुसेवालाई व्यवस्थापन करार, शेयर निष्कासन वा विक्री नगर्ने स्पष्ट प्रावधान विधेयकमा समावेश गर्न माग गरे ।
उनले भने, ‘विधेयकमा विभिन्न दफाबाट निजीकरणतर्फ उन्मुख हुने व्यवस्था गरिएको छ । यदि यस्तो हो भने भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिने अवस्था आउन सक्छ ।’
सुवालले वायुसेवा निजीकरण गर्न खोजिएको भन्दै गम्भीर असन्तुष्टि जनाउँदै भने, ‘सरकारले केही गर्न सक्दैन, अनि एउटै व्यक्तिको कम्पनीले देश चलाउने जस्तो उद्देश्य राखिएको छ । त्यो सह्य छैन ।’
समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ का संशोधनकर्तासँग छलफल भइरहेको बेला सुवालले यसप्रकारको चेतावनी दिएका हुन् ।
उनको भनाइमा, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तालाई चुनौती दिने खालका प्रावधान विधेयकमा रहनु हुँदैन र यसबारे संसद् तथा सरकार दुवै सचेत हुनुपर्ने आवश्यकता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया