टाइब्रेकरमा नेपाल पराजित, उज्बेकिस्तान एसियन कपमा छनोट

लोकपथ
1.1k
Shares

काठमाडौं । उज्वेकिस्तानले टाइब्रेकरमा नेपाललाई पराजित गर्दै अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ ।

शनिबार टास्केन्टमा सम्पन्न छनोट चरणको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानले रोमाञ्चक जित निकाल्दै टिकट पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमै उज्वेकिस्तानले पहिलो गोल गर्दै आक्रामक सुरुवात गरेको थियो । ११औँ मिनेटमा थप एक गोल गर्दै उसले अग्रता दोब्बर बनायो ।

२४औँ मिनेटमा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औँ मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्वेकिस्तानको अग्रता फेरि ३–१ बनाइन् ।

उज्वेकिस्तानका एन एर्गासेभाले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दोस्रो हाफमा १० खेलाडीमा सीमित रह्यो ।

त्यसपछि नेपालले दबाब बढायो । सावित्राले दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गर्दै स्कोर ३–३ को बराबरीमा पुर्‍याइन् ।

तर, नतिजा टाइब्रेकरमा पुगेपछि नेपालका तर्फबाट कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न चुक्दा उज्वेकिस्तान विजयी भयो ।

नेपालको उत्कृष्ट पुनरागमन प्रयास पनि नतिजामा परिणत हुन सकेन । उज्वेकिस्तान अब एसिया कपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?