टेक्सासको बाढीमा १३ को ज्यान गयो, २० बढी बालिका सम्पर्कविहीन

लोकपथ
1.2k
Shares

अमेरिका । टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । ग्वाडालुपे नदीमा आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ भने अझै पनि २० भन्दा बढी बालिकाहरू सम्पर्कविहीन छन् ।

स्थानीय शेरिफ ल्यारी लाइथाका अनुसार ग्वाडालुपे नदीको किनारमा सञ्चालनमा रहेको एक ग्रीष्मकालीन बाल शिविर बाढीको मुख्य चपेटामा परेको हो । शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ बालिका अझै सम्पर्कमा आउन सकेका छैनन् । उनले हराइरहेका व्यक्तिहरू अझै फेला नपरेका कारण मृत्यु संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकले मृतकमध्ये केही बालबालिका रहेको पुष्टि गरेका छन् । उनका अनुसार एक्कासि नदीको सतह २६ फिट (झण्डै ८ मिटर)ले बढ्दा शिविर क्षेत्र पूर्णरूपमा जलमग्न भएको थियो ।

शिविर व्यवस्थापनले दिएको जानकारीअनुसार बाढीले खानेपानी, विद्युत् र सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध बनाएको छ। उद्धारका लागि सयौँ सुरक्षाकर्मी र दर्जनौँ हेलिकप्टरसहितको टोली परिचालित गरिएको छ। उद्धार कार्य रातदिन जारी रहेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, स्थानीय प्रशासनले नागरिकहरूलाई प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध छन् र उद्धार कार्यमा बाधा पुग्न सक्ने जोखिम छ ।

विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, आकस्मिक बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्ररूपमा देखिन थालेका छन् । टेक्सासको यो बाढी पनि त्यहीँ परिवर्तित मौसमी प्रणालीको एउटा गम्भीर परिणाम भएको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?