काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै यसको प्रभावकारी विकास आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक कार्यक्रम तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रमुख पर्यटकीय क्षेत्रहरू राति चाँडै बन्द गर्नु अनुचित रहेको धारणा राखे।
उपाध्यक्ष पाण्डेले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटक आकर्षण क्षेत्रहरू राति ९ बजेपछि बन्द हुनु विदेशी पर्यटकका लागि निराशाजनक हुने बताए। उनका अनुसार, ‘पर्यटक नेपाल सुत्न होइन, अनुभव गर्न आउँछन् । ९ बजे होटल बन्द गर्नु, प्रहरी नभएको बहानामा सुरक्षाको अभाव देखाउनु, यो पर्यटनमैत्री व्यवहार होइन ।’
उनले विशेष सुरक्षा व्यवस्था गरी पर्यटकीय क्षेत्रहरू २४ घण्टा सञ्चालन गर्नुपर्ने सुझावसमेत दिए। ‘स्पेशल पुलिस राखेर व्यवस्थापन गर्न सकिन्छ। यसो गरे रोजगारी बढ्छ, व्यवसाय बढ्छ, र समग्र अर्थतन्त्रलाई मद्दत पुग्छ,’पाण्डेले भने।
भारतबाट विवाहका लागि नेपाल आउने सम्भावना उच्च रहेकाले पनि पर्यटन क्षेत्रको पूर्वाधार तथा व्यवस्थापनमा सुधार गर्नुपर्नेमा उनले जोड दिए । उनले पर्यटन क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास गर्न सकेमा आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया