नेपाल र उज्वेकिस्तानबिच एएफसी महिला एसियन कप छनोटको निर्णायक खेल आज

लोकपथ
2.1k
Shares

काठमाडौं । एएफसी महिला एसियन कप फुटबलको छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र घरेलु टोली उज्वेकिस्तान आमनेसामने हुँदैछन् । खेल उज्वेकिस्तानको मिलि स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।

समूहका अघिल्ला दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेका नेपाल र उज्वेकिस्तानबीचको यो भिडन्त ‘फाइनलसरह’ मानिएको छ। नेपालले समूह चरणमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलअन्तरले पराजित गर्दै आत्मविश्वास बढाएको छ। त्यस्तै, उज्वेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराएको थियो।

दुवै टोलीका अंक र गोल बराबरी भएकाले आजको खेलको नतिजाले समूह विजेता तय गर्नेछ। निर्धारित समयसम्म खेल बराबरीमा सकिए टाइब्रेकरमार्फत विजेता टुंगो लगाइनेछ।

यद्यपि उज्वेकिस्तान फिफा वरियतामा नेपालभन्दा ४९ स्थानले माथि रहेको छ, जसले नेपाली टोलीका लागि चुनौती थपिने संकेत गरेको छ।

यो खेल दुबै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था हो। विजेता टोलीले आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ भने पराजित टोलीको यात्रा यही चरणमै टुंगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?