काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेको तीन मन्त्रीहरुले ब्रिफिङ गरेका छन् ।
शुक्रबारको बैठकमा उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्का, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयगत अवस्था र काम गर्दाको अप्ठ्यारोबारे पार्टी नेतृत्वलाई जानकारी गराएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उर्जामन्त्री दीपक खड्काले केही समस्या भएको बेलामा पार्टी नेतृत्वले समाधान गरेको बताए ।
उनले गत वर्षको असोजमा आएको बाढीबाट १७ अर्ब बराबरको क्षति भएको जानकारी गराए । त्यस्तै आफ्नो कार्यकाल सुरु भएदेखि ४०० मेगावाट विद्युत राष्टिय प्रशारण लाइनमा जोडिएको उनले बताए । १७ अर्बभन्दा बढीको विद्युत बेचेको र विगमा आयात गर्दा भएको घाटाबाट संचिती अवस्थामा पुगेको उनको दाबी गरे । यसैगरी गरिब नागरिकलाई पनि सेयर दिने र त्यसका लागि सरकारले ऋण दिएर विद्युत परियोजनाहरु अघि बढाइने मन्त्री खड्काले बताए । भारत सरकारको ग्रेड प्रयोग गर्नुपर्ने भएकाले बंगलादेशसँग विद्युत निर्यात गर्न केही समस्या रहेको उनले बताए ।
पार्टीले नै गरिबीमा रहेका जनतालाई मुलधारमा ल्याउने एजेन्डा लिएर जाँदा चुनावमा सजिलो हुने मन्त्री खड्काले बताए ।
त्यस्तै भारतबाट विद्युत व्यापार गर्ने र चीनसँग सम्बन्ध सुमधुर राख्ने काम भइरहेको उनले बताए । बजेटमा सांसदहरुका योजनाहरु धेरैभन्दा धेरै समेट्ने प्रयास गरिएको बताए । आफ्नो जिल्लाभन्दा अरु जिल्लालाई बजेट विनियोजनमा प्रथमिकतामा राखिएको उनले जानकारी दिए ।
त्यस्तै बैठकमा बोल्र्दै कृषिमन्त्री रामनाथ अधिकारीले भोलीको दिनबाटै मलको समस्या बजारमा नदेखिने दाबी गरे ।
‘हाम्रो देशमा प्रवेश गरेको मल १ लाख १० हजार टन आइपुगेको छ । हाम्रो ३७ वटा गोदाम छ, ३७ ठाउँमा त्यहाँ आज धमाधम धेरै ठाउँमा लोड भएर भोलि बेलुकीसम्ममा गोदामहरुमा मल पुग्दैछ । मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला,’ मलको समस्या नहुने प्रतिबद्धता जनाउँदै उनले भने ।
कृषि मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् र स्थानीय तहमार्फत मात्रै बजेट विनियोजन हुने भएका कारण बाहिर रातो किताबमा कसैको पनि योजनाहरु सार्वजनिक नभएको उनले बताए ।
कृषि मन्त्रालयमा आएको बजेटबाट २७ अर्ब रासायनिक मलका लागि दिइएको र त्यसमध्ये १ अर्ब ८२ करोड मात्रै समावेश गरिएका कारण अर्को वर्ष रासायनिक मलको समस्या नहुने उनले बताए । मन्त्रालयमा नयाँ योजनाहरु नल्याइएको उनले बताए । मध्यपहाडी लोकमार्ग अन्तर्गत रोडमा राष्ट्रिय फल सुन्तला के के हुन्छ, त्यसका लागि रकमको विनियोजन गरिएको छ ।
मासु निर्यात प्राथमिकताका राखिएको मन्त्री अधिकारीले बताए । ‘मासु निर्यातका लागि पाडापाडी पालन र भैँसी राँगा उत्पादन कार्यक्रमको प्राथमिकता छ किनभने हामीले चीनसँग एमओयू गरेको कारण त्यसलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने ।
यो पटक देशैभरी माटोको स्वास्थ्य परीक्षण गर्ने गरी रकम विनियोजन गरिएको र बाँझो जमिन सदुपयोग कार्यक्रम पनि यसैपटक राखिएको उनले जानकारी दिए । ‘पहाडी क्षेत्रमा लाग्ने विशेषगरेर बाँदर तथा कृषि हानिकारक बन्यजन्तुको नियन्त्रणका लागि पैसाको व्यवस्थापन गरिएको छ,’ बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भने ।
त्यस्तै सरकारले उखु किसानहरुलाई दिँदै आएको अनुदान आगामी वर्षबाट कटौती हुने बताउँदै मत्यसको जसअपजस पार्टीलाई पर्ने बताए ।
‘अब उखुलाई पैसा नजाने संकेत आएको छ, अर्को वर्षबाट । मन्त्रीले कमजोरी गर्यो, भनिएला बजेटमा समावेश छ । तर दिने मानसिकता छैन,’ उनले भने, ‘म त भोलि नहुँदा, तँ मन्त्री थिइस् भनेर प्रश्न उठ्न सक्ला , पार्टीमाथि आक्षेप लाग्न सक्छ । त्यो परिस्थित निर्माण भएको छ ।’
यता युवा तथा खेलकुदमन्त्री चौधरीले विदेश घुम्ने कार्यक्रमलाई खेलकुद मन्त्रालयलाई भाग नदिइएको गुनासो गरेका छन् । ‘पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न सकिएको छैन । सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन्, उनले भने, ‘तर सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन ?’
त्यस्तै मन्त्री चौधरीले विभिन्न ठाउँको कार्यकारी प्रमुख माओवादी केन्द्रनिकटका व्यक्ति हुँदा काम गर्न अप्ठ्यारो भएको पनि बताए ।
‘राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता सबै ठाउँमा माओवादी छन् । त्यसले गर्दा काम गर्न अप्ठ्यारो भएको छ,’ उनले भने, ‘खेलकुदमा राजनीतिकसँगै सबै हस्तक्षेप भएको छ । सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेका छन् ।’
अहिले ओलम्पिक कमिटीमा आफ्नो पक्षमा बहुमत जुटेको उनको भनाइ छ । ‘एनओसीमा रहेका २७ मध्य २२ जना साथीहरू हाम्रो पक्षमा आएका छन्,’ उनले भने ।
त्यस्तै एसियन गेम्सका लागि सहयोग नभएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए । ‘अहिले ३० वटा खेलहरू एसियन गेम्सका लागि गएका छन्। एसियम गेम्सका लागि हाम्रै साथीहरुले सहयोग गरेनन् । ह्यान्डबल, बास्केटबल अध्यक्ष भीम गुरुङ, कराते महासंघका महासचिव दावा गुरुङले सहयोग गरेनन्,’ उनले बैठकलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया