सुर्खेतमा चट्याङ लाग्दा एक जनाको मृत्यु, चार जना घाइते

लोकपथ
336
Shares

सुर्खेत । भेरीगङ्गा नगरपालिका–८ कुइरेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार दिउँसो करिब ३ बजेतिर वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको बेला चट्याङ परेको हो।

सोही वडाका २७ वर्षीय डिलबहादुर शाही गम्भीर घाइते भई उपचारका लागि मेहलकुना अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा तथा अस्थायी प्रहरी चौकी जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा खटिएको टोलीले चार जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको छ।

घाइते हुनेहरूमा १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?