काठमाडौं । भित्र गरमागरम बहस । बाहिर पनि उत्तिकै चहलपहल । मानसिक गुटका पर्खाल लिएर बसेका झुण्ड झुण्ड मानिसहरूको ओहोरदोहोर, अभिवादन र अंकमाल ।
सामाजिक सञ्जालमा दुष्मनी–कटाक्ष, भेट्दा थोरै मत्थर तर कसैकाप्रति ‘चट्टानी अडान’ । राष्ट्रियगानमा भनिएझैँ, सिद्धान्तले सयौँ फूलबाट एकै माला गाँसिन आइपुगेकाहरू ।
सानेपामा ५ दिनदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको दृश्य हो, माथिको । १३ एजेन्डाहरू सेट छन्, बैठकका लागि । पार्टीको १०० दिने अभियानको प्रतिवेदन पेस गर्नेदेखि ‘विविध’ सम्म एजेन्डाहरू छन् ।
‘धेरै मान्छे धेरै कुरा’ अझ यसरी भनौँ, ‘ठूलो घर धेरै विवाद’ । विधानअनुसार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्ने प्रावधान छ ।
विधानअनुसार बैठक बसेको भए, पुराना विवाद, आरोप र कुण्ठाहरू विस्तारै विस्तारै सुनिँदै जाने थिए । २०८१ भदौमा सम्पन्न भएको पछिल्लो केन्द्रीय समिति बैठक अहिले त्यसको १० महिनापछि बस्यो । एकैपटक १० महिनाको लामो अन्तरालपछि बसेको बैठकमा आरोपका लामै श्रृंखलाहरु सार्वजनिक भए ।
सोमबारबाट सुरु भएको बैठकमा संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आफ्ना कुराहरू मात्र राखेनन्, अरूमाथि आरोप– प्रत्यारोपसमेत गरे । उसनले सुरुमै आफूले पार्टीभित्रको तीतो वास्तविकता उजागर गर्ने घोषणा गरेरै पार्टीभित्रका कतिपय विषयमाथि कटाक्ष गरे ।

केही सदस्यहरूले घुमाउरो भाषामा अन्य सदस्यहरूमाथि प्रहार गरे । तर डा. कोइरालाले अर्बपति व्यापारी विनोद चौधरीलाई बनाइएको केन्द्रीय सदस्य पदमाथि नै वैधानिक प्रश्न तेस्र्याए । उनले यसअघिका पार्टी नजिरसमेत सम्झाउँदै व्यक्तिगत लान्छनामा उत्रिँदा बैठकमा केही असहजता जस्तो देखियो ।
‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ?,’ उनले भने, ‘क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।’
डा. कोइरालाको कुरा सुनिरहेका पार्टीको ‘चन्दा बैंक’ का रूपमा रहेका चौधरीले आफ्नो पालोमा बोले । उनले आफ्नो पदमाथि नै वैधानिकताको प्रश्न उठाइएको भन्दै आफू पार्टीको विधानअनुसार निर्वाचित भएको जवाफ फर्काए ।
‘नेता कोइरालाले हिजो प्रश्न उठाउनुभयो कि विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअघि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो,’ चौधरीले कोइरालामाथि प्रश्न गर्दै भने, ‘म कांग्रेसको विधि र विधानमार्फत निर्वाचित भएको हुँ ।’
चौधरीले डा. कोइरालाले गुटको राजनीतिमा हद नाघेको भन्दै कटाक्ष गरे । ‘डा. शेखर कोइरालाले हिजो जे बोल्नुभयो त्यसलाई म सम्मान गर्छु । व्यक्तिगत रूपमा जुन तरिकाले उहाँले अनुशासन समितिमाथि र मेरो योग्यतामाथि प्रश्न उठाउनुभएको छ, गुटको राजनीतिको पनि सीमा हुन्छ,’ उनले सोमबारको अभिव्यक्ति स्मरण गराउँदै मंगलबार भने ।

गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार हराउन भूमिका खेल्नेलाई डा. कोइरालाले च्यापेको भन्दै उनीमाथि समेत नैतिक प्रश्न छाडे ।
कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्छ । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता मूल मर्म जस्तै हो । यसरी हेर्दा पार्टी नेताहरूका लागि नेतृत्वले अभिव्यक्ति स्वतन्त्रता छाडिदिएको देखिन्छ ।
त्यसको उदाहरण धेरै पर छैन, केही दिनअघि नै कांग्रेस सांसदले अर्का कांग्रेसबाटै उपप्रधानमन्त्री भएका अर्का नेतामाथि कटाक्ष गरे । कटाक्ष मात्र पनि होइन, पशुपतिनाथ र गौतम बुद्धलाई प्रार्थना गर्दै रोष्ट्रमबाटै अर्को निर्वाचनमा संसदमा देख्न नपरोस् भन्दै पुकारा गरे । रोस्ट्रमबाटै सांसद पूर्णबहादुर तामाङले गाली गर्दा उपप्रधानमन्त्री प्रकाशमान सिंह निराश देखिए । तर न उनलाई कांग्रेसले कारबाही गर्यो, न प्रकाशमानले त्यति तलै ओर्लिएर कटाक्ष गरे !
कांग्रेस बैठकको अर्को रोचक र चर्चित आरोप प्रत्यारोप बनेको छ, केन्द्रीय सदस्य मोहन बस्नेत र महामन्त्री गगन थापाको आरोप र त्यसको खण्डन ।
बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बस्नेतले महामन्त्री थापाका कारण आफूमाथि अख्तियारले डन्डा चलाएकोसमेत भन्न भ्याए । उनले महामन्त्री थापाकै कारण आफूलाई टेरामक्स घोटाला प्रकरणमा अख्तियारले मुद्दा चलाएको र बालकृष्ण खाँणलाई समेत महामन्त्री थापाकै कारण जेल पठाउन हात रहेको दाबी गर्दै कटाक्ष गरे । साथै उनको पनि ठूलाठूला फाइल रहेको भन्दै प्रतिशोधको राजनीतिले कसैलाई पनि नछाड्ने दाबी गरे ।

‘महामन्त्री गगनजी मलाई मात्रै होइन, बालकृष्ण खाँणलाई पनि समाउनुपर्छ भनेर अख्तियारमा लाग्नुभयो, मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि ! तपाईंको बारेमा हामीले भनिदिएको छैनौँ ।
महामन्त्रीजीका बारेमा मसँग ठस्लो फाइल छ, अहिले म धेरै भन्न चाहन्न,’ बस्नेतले भनेका थिए, ‘यहाँ कोही पनि चोखो छैन, प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्दैन ।’
टेरामक्स प्रकरणमा मुद्दा खेपिरहेका बस्नेत अन्य ठाउँमा समेत आक्रामक अभिव्यक्ति दिने गर्छन् । केही समयअघि गृहजिल्ला सिन्धुपाल्चोकमा माओवादी सांसद माधव सापकोटामाथि परिआए हातपात गर्ने समेतका धम्की दिएका थिए उनले । बुधबारको बैठकमा समेत बस्नेतले सोही शैली अपनाए ।
‘हामीलाई पनि छ पीडा, यहाँ बोल्न नपाए बाहिर बोल्नुपर्छ । म अन्याय सहन्न, अन्तिमसम्म लड्छु, प्रतिकार गर्छु । धेरै महत्वाकांक्षा बोकेर दौडिनेहरू होस् गर्नुस्, ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला,’ धम्कीकै शैलीमा उनले भने ।
त्यसपछि बोलेका महामन्त्री थापाले ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ बस्नेतको अभिव्यक्ति रहेको भन्दै ‘फोहोर’ को संज्ञा दिए । बस्नेतले आफूमाथि लगाएका आरोपहरू खारेज गर्दै महामन्त्री थापाले भनेका छन्, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न ।’
बस्नेतको अभिव्यक्तिले राजनीतिक तह र सभ्यताको सीमा नाघेको बताए ।
‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु– फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु,’ बस्नेतको अभिव्यक्तिमा थप प्रतिवाद नगर्ने भन्दै थापाले भनेका थिए ।

यी आरोप, कुण्ठा र शैलीहरू कांग्रेस बैठकका प्रतिनिधि उदाहरण मात्र हुन्, जुन चर्चा गरेर साध्य छैन । झिनामसिना माग, त्यसमाथि उठेका आक्रोश, पार्टी आफ्नो लयमा हिँड्न नसकेको भन्दै निस्किएका स्वरहरू स्वाभाविक हुन् ।
सुरुमै उल्लेख गरिएझैँ सिद्धान्तले एक ठाउँमा आएकाहरू सिद्धान्तभित्र पनि मानसिक पर्खाल लगाएर बसेका छन् । भित्र भएको बहसमा कित्ताकाट हुँदै बाहिर एकअर्काप्रति टिप्पणी, लान्छना र गालीहरू निरन्तर छन् । लोकतान्त्रिक दलमा अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका नाममा भइरहेको अराजकतालाई कांग्रेसले कसरी हेरेको छ, त्यो कांग्रेसकै कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया