काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज शुक्रबार बसेको संसदीय दल बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
दलका नेता धनश्याम चौधरीले समर्थन फिर्ता लिने निर्णय गरेको पुष्टि गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएसँगै रिसाएको नाउपाले समर्थन फिर्ताको निर्णय लिएको हो ।
समर्थन फिर्ता लिने सन्दर्भमा सुदूरपश्चिम प्रदेशका सांसद विभाजित देखिएका छन् । सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात जना सांसद भएपनि आजको बैठकमा तीन जना सांसद अनुपस्थित थिए । सांसदहरू लक्ष्मणकिशोर चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी समर्थन फिर्ता लिने विपक्षमा छन् ।
यसले बहुमतको आधारमा समर्थन फिर्ताको निर्णय लिएको देखिन्छ ।
कृषकहरूका लागि अनुदानमा दिने पावर टिलर (हाते ट्याक्टर) वितरणमा आर्थिक चलखेल गरेको आरोप लागेपछि मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेका थिए । विवादमा परेसँगै मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन सुझावसमेत दिएका थिए । सुझाव नमाने बर्खास्त गर्नेसम्मको चेतावनी पनि दिएका थिए ।
आफ्नो मन्त्रीलाई जबरजस्ती हटाएर अपमान गरेको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीले संघ र प्रदेश दुवैतिर प्रतिपक्षमा बस्ने निष्कर्ष निकालेका थिए ।
अध्यक्ष र संरक्षकको त्यही निर्देशन गएपछि दलका नेताले शुक्रबार समर्थन फिर्ता गर्ने निर्णय गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया