जगदम्बा स्टिल्स विस्फोटप्रति सांसद श्रेष्ठद्वारा दु:ख व्यक्त, छानबिन गर्न माग

लोकपथ
3.9k
Shares

काठमाडौं । प्रतिनिधिसभा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टी असार १८ गते भएको विस्फोट प्रति दुख व्यक्त गरेका छन् ।

सांसद श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त त्रासदीपूर्ण घटनाले सम्पूर्ण सिमराबासीलाई गहिरो दुःख र त्रासमा पारेको बताएका छन् ।

उक्त घटनाको सत्यतथ्य छानबिनका लागि सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, उक्त त्रासदीपूर्ण घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका गरी घटनाको मूल कारण सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।

सहरको बीचमा प्रदूषण र उच्च जोखिमयुक्त स्टिलजस्तो उद्योग रहनु आफैँमा दुःखद विषय भएको भन्दै सांसद श्रेष्ठले त्यसमाथि जगदम्बा स्टिल्सले आफ्नो विस्तारका क्रममा स्थानीयवासी तथा स्थानीय तहसँग कुनै समन्वय नगरी एकपक्षीय ढंगले काम जारी राख्नु गम्भीर चिन्ताको विषय भएको जनाएका छन् । जगदम्बा स्टिल्सले विगतदेखि नै सिमराको वातावरणमा पार्दै आएको नकारात्मक प्रभाव र यसबाट उत्पन्न हुँदै गएको स्वास्थ्य र मानसिक त्रास अन्त्य गर्नका लागि पनि उनले स्थानीय, प्रदेश र संघ सरकारलाई अबिलम्ब कदम चाल्न माग गरेका छन् ।

बुधबार राति विस्फोट भएको भट्टी पुनः सञ्चालन गर्न भइरहेका प्रयासलाई तत्काल रोक लगाउन स्थानीय सरकार तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै सांसद श्रेष्ठले यस्तो प्रदूषणयुक्त र जोखिमपूर्ण उद्योगलाई सहरको बीचबाट स्थानान्तरण गर्न आवश्यक नीति, कार्ययोजना र कानुनी प्रक्रिया तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?