काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वहारा वर्गको अधिनायकत्वमा तत्काल समाजवाद सम्भव नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको अवस्थामा समाजवादका ठूला व्याख्या होइन, व्यवहारिक आधार तयार पार्न जरुरी रहेको बताए ।
उनका अनुसार मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया तथा नोकरशाहहरूको हैकम नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको छ ।
दाहालले भने, ‘सर्वहारा वर्गको अधिनायकत्व वा नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन । अहिलेको आवश्यकताअनुसार मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपतिहरूको हैकम नियन्त्रण गर्ने दिशामा लाग्नुपर्छ ।’
उनले दलाल पुँजीवाद र नोकरशाही पुँजीवादलाई समाजवादको आधार निर्माणको मुख्य तगारोका रूपमा चिनाए । ‘विचौलियाहरूले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलिरहेको छ,’भन्दै दाहालले वर्तमान अवस्थामा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि यी तत्वहरूसँग लड्नुपर्ने बताए ।
उनले भ्रष्टाचार, दलाल पुँजीवाद र विकृत नोकरशाहीको विरोध गर्नेहरूलाई पनि वामपन्थी र त्यसको संरक्षण गर्नेहरूलाई पनि वामपन्थी भनेर चिनाइने प्रवृत्तिप्रति आपत्ति जनाए ।
दाहालको भनाइले वर्तमान सन्दर्भमा व्यवहारिक समाजवादको मार्गचित्र बनाउने आवश्यकता रहेको र परम्परागत नारालाई पुनर्विचार गर्नुपर्ने सन्देश दिएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया