एलिनामाथि ‘अश्लिल कमेन्ट’ गर्ने गुञ्जन : प्रज्ञाले छानेको ‘कवि’, बुद्ध साधक पनि

लोकपथ
23.9k
Shares

काठमाडौं । गायिका एलिना चौहानको सामाजिक सञ्जालमा उच्छृङ्खल कमेन्ट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुञ्जन राई रहेको छन् ।

राईलाई आज ललितपुरबाट पक्राउ गरिएको नेपाली प्रहरीको साईबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले लोकपथलाई जानकारी दिए ।

‘उहाँ (गुञ्जन राई) लाई हामीले प्रकाउ गरी कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ अवस्थीले भने ।

पक्राउ परेका राई कवि समेत हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजित कविता महोत्वस–२०८२ मा छनोटमा परेका कवि हुन् । हरेक वर्ष प्रज्ञाले आफ्नो स्थापना दिवसका अवसरमा कविता महोत्सव आयोजना गर्दै आइरहेको छ ।

प्रज्ञाले सार्वजनिक सूचना नै जारी गरेर कविता पठाउन भनेको थियो । त्यसमध्ये आएका सयौँ कवितामध्ये उत्कृष्ट २५ कविहरुलाई असार ९ गते कविता वाचनका लागि बोलाइएको थियो । राई उत्कृष्ट २५ कविमध्ये एक हुन् ।

उनको स्थायी ठेगाना इलाम रहे पनि प्रज्ञाले निकालेको सूचीमा उनको घर चितवन लेखिएको छ । उनले लेखेको ‘टोपीको गहिराई’ शीर्षकको कविता छनोटमा परेको थियो, उनी उत्कृष्ट २५ मध्ये ८ नम्बरमा छानिएका थिए ।

त्यो त उनले आफ्नो सामाजिक सञ्जालमा आफू करिब डेढ दशकदेखि कवित्व र बुद्धत्वमै साधना गरेर बिताएको समेत दाबी गरेका छन् । साथै आगामी दिनमा साहित्यका क्षेत्रमा थप राम्रो गर्ने प्रतिबद्धता समेत जनाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

‘देशभरका हज्जारौँ कविहरु मध्ये नेशनल लेभलमा टप २५ कविमा सिलेक्ट भइएको छ । जिन्दगीको पछिल्लो डेढ दशक मैले कवित्व र बुद्धत्वमै साधना गरेर बिताएको छु । त्यसैको शपथ खाएर भन्छु, यदि नेशनल लेभलमा टप थ्री कवि भइनँ भनें, अबको पाँच छ महिना म एउटा नि कविता लेख्ने छैनँ । जिन्दगीमा चाहिने भन्दा धेरै लेखियो भनौं कविता । म अब अरु नै कुरामा साधना, फोकस गर्न चाहन्छु…,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए ।

उनले सामाजिक सञ्जालमा गायीका एलिना चौहान र अर्की गायीका समीक्षा अधिकारीप्रति नकारात्मक कमेन्ट गरेका थिए । एलिनाले केही दिन अघि उनको कमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । तर राई गालीगलौजको त्यतिमा मात्र रोकिएका थिएनन्, उनले निरन्तर सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरु लेख्दै आइरहेका थिए ।

आफूहरुविरुद्ध नकारात्मक कमेन्ट गर्नेहरुविरुद्ध एलीना र समीक्षाले चलाएको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत साथ दिएका थिए । आफूविरुद्ध लाग्नेहरुमाथि सामाजिक रुपमा प्रतिकार गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘साहसी छोरीहरु’ भन्दै प्रशंसा गरेका थिए । तर राईले भने प्रधानमन्त्रीको उक्त पोष्ट समेत सेयर गर्दै ‘प्रधानमन्त्री झाँक्री’ रहेको भन्दै नकारात्मक प्रतिक्रिया जनाएका थिए ।

उनले यसबीचमा एलीना र समीक्षामाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने गरेको उनको सामाजिक सञ्जाल कोट्याउँदा देख्न सकिन्छ ।

आफूमाथि सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्ने क्रम नरोकिएपछि केही दिन अघि एलिनाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सुरुमा उनले ४ जनाविरुद्ध उजुरी दिए पनि पछि थप अरु व्यक्तिविरुद्ध समेत उजुरी परेको ब्यूरोका प्रवक्ता अवस्थीले लोकपथलाई बताए । अन्यको हकमा पनि खोजी भइ कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

यो पनि…

‘अश्लिलता’विरुद्ध प्रतिकारमा ‘सेलिब्रेटी’ : ‘एलिना र समीक्षा’ हरुमाथि प्रहार किन ? [भिडियोसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?