संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो : प्रचण्ड

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन् । 

बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।  

उनले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको बताए ।  

अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको जिकिर गरे । निजामती विधेयकमा कुलिङ पिरियडबारे बोल्दै उनले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गरे । 

अध्यक्ष दाहालले भने, ‘अहिले तपाईँ हामी हेर्‍यौँ भने संविधानमा निर्दिष्ट गरेका मूलभूत मान्यतालाई इमान्दारिताका साथ प्रयोग गर्ने एउटा विचार, एउटा प्रवृत्ति छ भने अर्को संविधानमा भएका सबै सकारात्मक, प्रगतिशील र लोकप्रिय चिज उल्ट्याउने र त्यसलाई यही प्रतिक्रियावादी अनुकूल बनाउने कसरत वा लडाई चलिरहेको छ । हामीले हिजो जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा भन्थ्यौँ, संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो । सायद तपाईँ हामी सबैलाई थाहा छ । अहिले जे भइरहेको देखिन्छ, अघि ईश्वरचन्द्रजीले भन्नुभयो नि, अहिले भइरहेको समितिका प्रतिवेदनहरूमाथि भएका छेडखानीहरू त्यो त्यस्तै हो । देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै । त्यस्तै चिज चलिराखेकै छ ।’

आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गरे । अध्यक्ष दाहालले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गरे । नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिष्टहरुले नै सुरु गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?