काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशनबारे नेतृत्वलाई प्रश्न गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठक अन्तर्गत बिहीबारको बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् ।
सभापति देउवाले सार्वजनिक मञ्चहरुमा समयमै महाधिवेशन हुने अभिव्यक्ति दिने गरेको तर त्यो मिति कहिले ? स्पष्ट पार्न आग्रह गरे ।
‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रुपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ । त्यो भनिएको समय कहिले हो ? त्यो समय २०८२ मंसिर भित्र हो कि २०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ?,’ नेता केसीको प्रश्न रहेको छ ।
त्यस्तै उनले आगामी स्थानीय तहको मुखमै पार्टीको महाधिवेशन पुग्न सक्ने संकेत गर्र्दै त्यसले पार्टीले क्षति बेहोर्नसक्ने भन्दै नेतृत्वलाई सचेत गराएका छन् ।
महाधिवेशन धकेलिँदा वैधानिकतामाथि नै संकट आउने भन्दै बेलैमा सचेत हुन आग्रह गरे ।
‘स्थानीय निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसको परिणाम के होला ? के यो सम्भव छ ? कहिलेकहीं निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ । त्यो त संविधान र कानुनी रुपबाट सम्भवै छैन । यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आईपर्ने हेक्का राख्नुपर्ने जरुरी छ । तसर्थ २०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस् । त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ,’ उनले भने ।
त्यस्तै नेता केसीले पार्टीको बैठक विधान अनुसार नियमित बस्न नसकेको भन्दै असन्तुष्टि जनाए । हरेक महिनामा कम्तिमा दुईपटक बस्नुपर्ने केन्द्रीय समिति बैठक, महिनामा कम्तीमा १ पटक बस्नुपर्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक र महासमिति बैठक नियमित बस्न नसकेको भन्दै आपत्ति जनाए ।
त्यस्तै पार्टीले जनताको चाहना अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । पार्टीको काम गुटउपगुटमा मात्रै केन्द्रित रहने मात्र नभइ आम जनता र तीनका भावना, दैनन्दिन समस्या र आवश्यक्ता व्याप्त, अविश्वास र निराशालाई सम्बोधन गर्न पार्टीलाई जनता र कार्यकर्तासँग जोड्नुपर्नेमा जोड दिए ।
‘पार्टीको काम सत्ता र गुट–उपगुटमा मात्र केन्द्रित भएर होइन, आमजनता र तीनका भावना, दैनन्दिनी समस्या, आवश्यकता, व्याप्त अविश्वास र निरासालाई सम्बोधन गर्दै पार्टीलाई जनता र कार्यकर्तासँग जोडेर समाधानको बाटो हिंड्ने संकल्प आजको आवश्यकता हो,’ उनले भनेका छन् ।
त्यस्तै पार्टीका बीग फोर सूर्यप्रसाद उपाध्यायलाई पार्टीमा भित्र्याउने प्रतिबद्धता सभापति देउवाले पटकपटक गर्ने गरेको तर त्यसलाई टुंगोमा नपुर्याएको भन्दै असन्तुष्टि जनाए ।
‘नेपाली कांग्रेसका स्थापनाकालिन ‘बिग–फोर’ मध्येका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु) लाई पार्टीमा पुनःस्थापित गर्नेबारे सभापतिज्यूले धेरैचोटी सार्वजनिक प्रतिबद्धता पनि जनाउनु भयो र तदनुरुप निर्णय तथा घोषणा त भयो, तर यसको उचित कार्यान्वयन नहुनु दुःखद भएको छ,’ उनले भने ।
साथै भ्रातृ संस्थाको महाधिवेशन हुन नसकेको विषयमा पार्टी गम्भीर हुन नसकेको उनको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया